PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सभापति जित्न देउवालाई पुगेन ८३ भोट, दोस्रो चरणमा सिंह वा निधिको समर्थन पाए सहज जित



नेत्र तामाङ

सभापति जित्न देउवालाई पुगेन ८३ भोट, दोस्रो चरणमा सिंह वा निधिको समर्थन पाए सहज जित

काठमाडौंः रातभरको मतदान र मतगणनाले नेपाली कांग्रेसको भावी सभापति छान्न सकेन। कांग्रेस विधान अनुसारको आवश्यक मत संख्या प्रतिस्पर्धी कुनै पनि उम्मेद्वारले कटाउन नसकेपछि दोस्रो चरणको मतदान निश्चित भएको छ।

सभापतिका दुई प्रतिस्पर्धी शेरबहादुर देउवा र शेखर कोइरालाबीच अब दोस्रो चरणको निर्वाचन हुनेछ।

देउवाले २२५८ मत पाए पनि जितका लागि पर्याप्त भएन। उनलाई विधानको व्यवस्था अनुसार ५० प्रतिशत कटाउन ८३ मत पुगेन। यसअघि आफ्नै समूहमा रहेर सभापतिमा प्रतिस्पर्धा गरेका विमलेन्द्र निधिले २४९ मत ल्याए। निधि व्यवस्थापन हुन सकेको अवस्थामा देउवा पहिलो चरणमा नै सभापति हुने निश्चित जस्तै देखिएको छ।

निर्वाचन समितिका अनुसार कूल ४७४३ मतदातामध्ये ४६८१ मत खसेको छ। जसमा देउवाले २२५८ मत पाए। ५० प्रतिशत पुर्‍याउन उनलाई ८३ मत पुगेन। 

उता देउवासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेका कोइरालाले १७२९ मत ल्याए। कोइरालालाई सभापति जित्नका लागि अझै ६१२ मत आवश्यक पर्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहको लिगेसीबाट उम्मेद्वार बनेका कोइरालालाई पनि दोस्रो चरणको जित सहज भने छैन।

साझा उम्मेद्वार बनाउन नसक्दा पौडेल समूह दुई खेमामा विभाजित भएर चुनावमा गएको थियो। उक्त समूहबाट प्रतिस्पर्धा गरेका प्रकाशमान सिंहले ३७१ मत पाए। शेखरलाई परिवारभित्रकै सदस्य सुजता कोइरालाको पनि साथ रहेन। प्रकाशमान प्यानलबाट उनी उपसभापतिमा उम्मेद्वार छिन्।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले २० मतमात्र पाए।

कोइरालालाई जितका लागि अब प्रकाशमान, विमलेन्द्र र कल्याण समूहको पूर्ण सहयोग आवश्यक छ। त्यो पनि सहज जित हुने छैन।

शेखरले पाएको मत र अन्य तीन उम्मेद्वारले पाएको मत कूल २३६९ मत मात्र हुनेछ। कांग्रेसका कूल मतदाता ४७४३ छन्। सबै मत खसेमा जितका लागि २३७२ मत आवश्यक पर्छ।

निर्वाचन समितिले मंगलबार नै दोस्रो चरणको निर्वाचन अघि बढाउने छ। उक्त प्रतिस्पर्धामा भने खसेको मतमा सबैभन्दा बढी ल्याउने उम्मेद्वार विजयी हुनेछ।

देउवा समूह सक्रिय

सभागृहमा मतगणना जारी रहँदा नै सभापति देउवा पक्षले आफ्नो रणनीति अघि बढाइसकेको छ। गृहमन्त्री बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगिसकेका छन्।

प्रकाशमानले समर्थन गरेमा देउवाको जित निकै सहज छ। सिंह बाहेक निधिको समर्थनले पनि देउवालाई सहज छ। शेखरलाई भने तीनै पक्ष एकत्रित हुँदा पनि सहज जित छैन।

तर, निधिले यसअघि नै दोस्रो चरणमा देउवालाई अन्य सबै उम्मेद्वारले घेराबन्दी गर्ने बताइसकेका छन्। निधिले शेखरलाई समर्थन गर्ने जनाइसकेका बेला सिंह र गुरुङको भूमिका के हुने भन्ने यकिन भइसकेको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell