PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सभापति चयनमा निर्णायक सिंह र निधिः कसलाई गर्लान् समर्थन?



नेत्र तामाङ

सभापति चयनमा निर्णायक सिंह र निधिः कसलाई गर्लान् समर्थन?

काठमाडौंः पहिलो चरणमा कुनै पनि उम्मेद्वारले स्पष्ट मत नपाएपछि कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन आज नै गर्ने तयारी छ। प्रतिस्पर्धामा शेरबहादुर देउवा र डा. शेखर कोइराला हुनेछन्। पहिलो चरणमा बढी मत ल्याएका दुई उम्मेद्वारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने कांग्रेस विधानको व्यवस्था छ।

सभापति चयनको पहिलो चरणमा तेस्रो र चौथो भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणमा निर्णयक छन्। 
दुबै नेताबीच कसले सघाउनेबारे सामान्य छलफल भए पनि निर्णय गरिसकेका छैनन्। 

निधिका प्रेस सल्लाहकार रामजी दाहालले सिंह र निधिबीच कुराकानी भए पनि निर्णय नभएको बताए। दाहालले भने, ‘कसरी अघि बढ्ने भन्नेमा छलफल भएको हो। निर्णय भइसकेको छैन।’ 

यता अर्का निर्णयक प्रकाशमान सिंहलाई आफ्ना विश्वासपात्र मार्फत देउवाले सम्वाद अघि बढाइसकेका छन्। सभागृहमा मतगणना जारी रहँदा नै देउवाका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाण सिंह निवास चाक्सीबारी पुगेका थिए। 

स्रोतका अनुसार खाणले सभापतिमा देउवालाई सघाउन प्रस्ताव गरेका छन्। तर, सिंहले यसबारे परामर्शपछि मात्र निर्णयमा पुग्ने जवाफ खाणलाई दिएका छन्। खाण सिंह निवासबाट फर्किसकेका छन्। 

सिंह निकटका नेता एवं काठमाडौं जिल्ला सभापति सबुज बानियाँलो पार्टीका राजनीतिमा सिंहको भूमिका बढेको बताउँदै सभापतिको समर्थनबारे निर्णय भने नभएको बताए। बानियाँले भने, ‘पार्टीको राजनीतिमा उहाँको निर्णायक भूमिका रहेको स्पष्ट भइसकेको छ। तर, समर्थन कसलाई भन्नेबारे ठोस् निर्णय भएको छैन।’

निधिले भने यसअघि नै दोस्रो चरणमा देउवालाई घेराबन्दी गर्ने बताइसकेका छन्। अघिल्लो महाधिवेशनमा देउवा समूहमै रहेका निधि पछिल्लो समय रुष्ट छन्। यदि सिंह वा निधिको एकमात्र समर्थन भए पनि देउवाको जित सहज छ। 

महाधिवेशन निर्वाचन समितिका अनुसार कूल ४७४३ मतदातामध्ये पहिलो चरणमा ४६८१ मत खसेको छ। जसमा देउवाले २२५८ मत पाए। ५० प्रतिशत पुर्याचउन उनलाई ८३ मत पुगेन। 

उता देउवासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेका कोइरालाले १७२९ मत ल्याए। कोइरालालाई सभापति जित्नका लागि अझै ६१२ मत आवश्यक पर्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहको लिगेसीबाट उम्मेद्वार बनेका कोइरालालाई पनि दोस्रो चरणको जित सहज भने छैन।

साझा उम्मेद्वार बनाउन नसक्दा पौडेल समूह दुई खेमामा विभाजित भएर चुनावमा गएको थियो। उक्त समूहबाट प्रतिस्पर्धा गरेका प्रकाशमान सिंहले ३७१ मत पाए। शेखरलाई परिवारभित्रकै सदस्य सुजता कोइरालाको पनि साथ रहेन। प्रकाशमान प्यानलबाट उनी उपसभापतिमा उम्मेद्वार छिन्।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले २० मतमात्र पाए।

कोइरालालाई जितका लागि अब प्रकाशमान, विमलेन्द्र र कल्याण समूहको पूर्ण सहयोग आवश्यक छ। त्यो पनि सहज जित हुने छैन।
शेखरले पाएको मत र अन्य तीन उम्मेद्वारले पाएको मत कूल २३६९ मत मात्र हुनेछ। कांग्रेसका कूल मतदाता ४७४३ छन्। सबै मत खसेमा जितका लागि २३७२ मत आवश्यक पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell