काठमाडौं : नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन प्रतिनिधिहरुका लागि आज चियापान कार्यक्रम आयोजना गरेका छन्।
लैनचौर ब्याङ्क्वेटमा आयोजना चियापानमा सभापति पदका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइराला पुगेका छन्।
हिजो भएको मतदानमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत पुर्याउन सकेन। जसकारण अब आजै हुने दोस्रो चरणको निर्वाचनमा देउवा र शेखरबिच प्रतिस्पर्धा हुनेछ। दुवैजनाको समूह अहिले इतर समूहलाई प्रभावित बनाउन लागेको छ। यसबीच दुवै नेता पौडलेको कार्यक्रममा पुगेका हुन्।
कार्यक्रममा देउवा पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताहरुले देउवाविरुद्ध नाराबाजी गरेका थिए। देउवा पुग्ने भएपछि कार्यक्रमस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। त्यसैबिच देउवा पुगे लगत्तै त्यहाँ रहेको एक समूहले ब्याङ्क्वेट बाहिरबाटै नाराबाजी गरेका थिए।
हल भित्र प्रवेश गरेपछि पनि कार्यकर्ताको नाराबाजी रोकिएको थिएन। अवस्था सम्हाल्न प्रहरी र त्यहाँ उपस्थित नेताहरुलाई धौधौ परेको थियो। रामचन्द्र पौडेलले नै नाराबाजी लगाउँदै गरेकाहरुलाई रोक्दै शान्त हुन आग्रह गर्नुपरेको थियो।
पौडेलले महाधिवेशन प्रक्रिया र संस्थापन इतर समूहमा सहमति जुट्न नसक्दा महाधिवेशन नै बहिष्कार गरेका थिए।