
काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई प्रकाशमान सिंह समूहले समर्थन गर्ने भएको छ। पहिलो चरणको मतदानमा स्पष्ट मत कुनै पनि उम्मेद्वारले नपाएपछि मंगलबार नै दोस्रो चरणको चुनाव हुँदैछ।
पहिलो चरणमा सबैभन्दा बढी मत पाएका देउवा र शेखर कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा निर्णायक मानिएका सिंहले देउवालाई समर्थन गर्ने जनाएका छन्। सिंहको समर्थनसँगै देउवाको जित करिब सुनिश्चित बनेको छ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए। खसेको कूल मत ४६८१ मा देउवालाई जितका लागि २३४१ मत आवश्यक थियो। सिंहले पहिलो चरणमा ३७१ मत पाएका छन्। सिंहको समर्थनले देउवाको जित निश्चितजस्तै छ।
उता सभापतिका अर्का प्रत्यासी शेखरले १७२९ मत पाएका छन्। शेखरलाई जितका लागि ६१२ मत पुगेको थिएन। उनलाई जितका लागि सिंह तथा अर्का प्रतिस्पर्धीद्वय विमलेन्द्र निधि र कल्याण गुरुङको सहयोग आवश्यक पर्थ्यो।
सभापति देउवा मंगलबार बिहान लैनचौरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानबाट सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए।आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा लगत्तै आफैँ सिंह निवास पुगेका हुन्।
भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताएका हुन्।
सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकारेकाले आफ्नो समर्थन रहेको बताए।
देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए।