
काठमाडौं : नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला बिच प्रतिस्पर्धा हुने भएको हो।
पहिलो चरणको निर्वाचनपछि समीकरणमा व्यापक हेरफेर हुँदा देउवा सभापति बन्ने लगभग निश्चित बनेको नेताहरुले बताएका छन्। दोस्रो चरणको निर्वाचन अगावै सभापतिका प्रत्यासीहरु प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।
देउवालाई ८३ मत नपुग्दा फेरि सभापतिका लागि निर्वाचन हुन लागेको हो। हिजो भएको निर्वाचनमा खसेको ४६७९ मतमध्ये सभापतिका प्रतिस्पर्धी देउवाले २२५८ र शेखर कोइरालाले १७२९ मत पाएका थिए। जितका लागि २३४० मत आवश्यक थियो। अन्य प्रतिस्पर्धीमध्ये प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका थिए।
सिंह, निधि र गुरुङले नै देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। देउवाले बिहानै सिंह र निधि निवास पुगेर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।
'बिहानै उहाँले फोन गर्नु भएको थियो। मैले धेरै मत ल्याउनुभएकोमा बधाई भने। तर उहाँले कहाँ भयो र? दोस्रो चरणमा जाने भन्नुभयो। तपाईँको सहयोग चाहियो भन्नुभयो,' विमलेन्द्र निधिले भने, 'मैले सकारात्मक छु भनेँ। उहाँ चिया खान आउँछु भनेर आउनुभयो। मैले उहाँलाई विना कुनै शर्त समर्थन गर्छु भने।'
यस्तै, प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले पनि आफ्नो समर्थन देउवालाई रहेको बताएका छन्। आफू प्रकाशमान समूहबाट उठेकोले उनले गरेको निर्णयमा साथ दिनु आफ्नो कर्तव्य भएको शर्माले बताएका छन्।
सर्वसम्मति सर्वोत्तम l दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु - नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ l पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 14, 2021
सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु l