
काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिहरुको आत्मा र विवेक प्रयोग गरेर मत दिनेमा आफू विश्वस्त रहेको बताएका छन्।
दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, 'आज हुने निर्वाचनबाट जुनसुकै परिणाम आए पनि म त्यसलाई सहर्ष स्वीकार्छु र नेपाली कांग्रेस भित्र बृहत्तर एकताको प्रयास जारी राख्छु।'
उनले काग्रेसभित्र रहेको अव्यवस्थाका चाङलाई व्यवस्थित गर्ने बताउँदै हिजो भएको निर्वाचनको अव्यवस्थाबारे टिप्पणीसमेत गरे।
'साथीहरुले भरोसा गरेर मायाँ गर्नुभयो त्यसको लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु,' हिजोको निर्वाचनको मत परिणाम स्वीकार्दै डा कोइरालाले भने, 'मलाई विश्वास छ दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुनेछ।'
आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने र त्यसमा कसले कसलाई सहयोग गर्छ भन्ने कुरा गौण रहेको बताउँदै उनले महाधिवेशन प्रतिनिधिले अन्तरआत्मालाई हेर्नुपर्ने सुझाए। उनले मतदान गर्दा गुट उपगुटलाई बिर्सनसमेत आग्रह गरे।
कांग्रेसको जीवन सुधार्ने प्रतिज्ञा गर्छु भन्दै उनले परिणाम जस्तो आए पनि स्वीकार गर्ने बताए।