काठमाडौं : पार्टीको नयाँ नेतृत्वको चुनावबाट महाधिवेशन प्रतिनिधिले रुपान्तरण र परिवर्तनका पक्षमा उत्साह देखाएको भन्दै कांग्रस महामन्त्रीका उम्मेदवार गगन थापाले आगामी चार वर्षमात्र नभइ लामो समय पछुताउने अवस्था नल्याउन आग्रह गरेका छन्।
पार्टी सभापतिको चयनका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालाका पक्षमा अपील जारी गर्दै नेता थापाले भनेका छन्,
'इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु पर्दछ। त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।'
सभापति चयनका लागि दोस्रो चरणमा पुग्नुको अर्थ विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा मत पर्नु हो भन्दै उनले त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको बताएका छन्।
'नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आव्ह्वान गरिरहेको छ,' उनले अपीलमा भनेका छन्, 'देशभर छरिएर रहेका कांग्रेसजन, सुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन।'
उनले महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने, पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक भएको जनाएका छन्।
'हामीले आज त्यो उत्साहको संचार गर्न सक्नैपर्छ। संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ,' गगनको अपीलमा भनिएको छ।
गगनले प्रश्न पनि गरेका छन् - के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त?
उनले धेरै अलमल गर्ने समय नभएको जनाउँदै तत्काल निर्णय लिनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्।
'आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ। विगतमा बीपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन,' थापाले भनेका छन्, 'आजको गलत निर्णयले हामीले आगामी चार वर्षमात्र होइन, अझै लामो समय पछुताउने पर्नेछ।'
उनले 'समुन्नत नेपाल, सम्मानित नेपाली' को सपना पूरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन त्यो १४औं महाधिवेशनको मुल चुनौती रहेको समेत उल्लेख गरेका छन्।
'आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ,' गगनले भनेका छन्।