
काठमाडौं : हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन्।
गएको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाट चुनाव लडेर विजय भएका त्रिपाठी केपी शर्मा ओली नेतृत्व सरकारमा मन्त्री समेत भएका थिए।
आज पार्टी घोषणा गर्दै त्रिपाठीले देशमा वैचारिक बहस शून्य रहेको र राज्यका तीनवटै अंगहरु प्रभावहीन तथा गतिहीन भएकोले राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए। उनले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि बताए।
'वर्तमान परिदृश्यमा दलहरुबिच न्युनतम साझा विषयहरुमा राष्ट्रिय सहमतिको नितान्त आवश्यक्ता छ। यसले नै लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ' उनले भने।
उनले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व सहमति प्राप्त बुँदाहरुमा संविधान संशोधन गर्न आफ्नो पार्टीले माग उठाउने बताए। त्रिपाठीले तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण र जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस सुरु गर्ने समेत बताए।
उनले प्रतिनिधिसभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु बिडम्बना भएको भन्दै एमसीसी लगायत कतिपय विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग गरे।