काठमाडौं : नेपाली कांग्रेसको सभापति छनोट गर्नका लागि अहिले राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान भइरहेको छ। हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो।
दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदानमा सहभागी हुन ३ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेका थिए।
राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न पुगिरहेका महाधिवेशन प्रतिनिधिहरुलाई सभापतिका दाबेदारहरुले मत मागिरहेका छन्।
सभागृहको ढोका नजिकै सभापतिका प्रत्यासी शेखर कोइराला आफ्नो प्यानलका सदस्यहरु सहित प्रतिनिधिहरुसँग मत मागिरहेका छन्।
यस्तै, प्रधामन्त्री शेरबहादुर देउवा सभागृहको भवन अघिल्तिर बसेर मत मागिरहेका छन्। पहिलो चरणमा देउवाविरुद्ध उभिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। सभागृह पुगेरै सिंह र निधिले देउवाका लागि मत मागिरहेका छन्।
देउवासँगै उभिएर निधि र सिंहले प्रतिनिधिहरुसँग मत माग्दैछन्।