हेटौँडाः वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रीमण्डल विस्तार गरेका छन्। गठबन्धनमा रहेका दलहरुमा भागबण्डा मिलाउन ६ वटा मन्त्रालय थप गरेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) बाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका रत्न ढकाल र सरकारको नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सिन्धुपाल्चोककी इन्द्रमाया गुरुङ, काभ्रेका बसुन्धरा हुमागाईं र काठमाडौंका वसन्त मानन्धरलाई मन्त्री बनाएका हुन्।
कार्य विभाजन अनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा माओवादी केन्द्रका दाहाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा समाजवादीका मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै हुमागाईं, वन तथा वातावतरण मन्त्रीमा माओवादीका ढकाललाई जिम्मेवारी दिइएको छ।
यस्तै कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका गुरुङले शपथ लिएकी छन्।
साँझ ६ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन्।
योसँगै वाग्मती प्रदेशमा मुख्यमन्त्रीहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ। कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिएका पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तान र आफ्नै दलका कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए।
भँडेललाई भौतिक पुर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
दास्रो चरणमा पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका थिए। जम्मकट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।