PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

न रामचन्द्रको साथ, न शशांक सुजाताको हात: तैपनि शेखरले कसरी 'कभर' गरे तितरबितर समूह?



नेत्र तामाङ

न रामचन्द्रको साथ, न शशांक सुजाताको हात: तैपनि शेखरले कसरी 'कभर' गरे तितरबितर समूह?

काठमाडौँ: कांग्रेस केन्द्रीय कार्यसमितिको पोर्टफोलियोमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा पहिलो नम्बरमा छन् भने अर्का प्रत्यासी डा. शेखर कोइराला ३६औँ नम्बरमा। केन्द्रीय सदस्य रहेका उनै डा. शेखरले पार्टी पोर्टफोलियोको पहिलो नम्बरमा रहेको र संस्थापन पक्षको बलियो साथ रहेको देउवालाई १४औँ महाधिवेशनमा कडा टक्कर दिएका छन्।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ मत प्राप्त गरे। महाधिवेशनमा निर्वाचन नजिकिँदा सभापतिका साझा उम्मेद्वार छान्न नसकेपछि संस्थापन इतर तितरबितर  बनेको थियो। देउवाविरुद्ध पहिलोपटक नेतृत्व दाबी गर्दै उत्रिँदा १७ सय बढी मत पाउनु निकै उत्साहजनक विषय भएको शेखर प्यानलका महाधिवेशन प्रतिनिधि बताउँछन्। तितरबितर बनेको संस्थापन इतरलाई कोइरालाले राम्रो कभर गरेको केही प्रतिनिधिको दाबी छ।

शेखरले साख जोगाउँदा देउवालाई दौडधुप

यसपटक महाधिवेशन सुरु हुन अगावै देउवालाई रिपोर्टिङ थियो - पहिलो चरणमै सभापतिमा जितिन्छ। त्यही अनुसारको पूर्वतयारी पनि देउवाले गरेका थिए। देउवालाई जिताउन कतिपय केन्द्रीय सदस्यहरुले उम्मेद्वारी नै नदिएर सघाए भने कतिले पदाधिकारीको चाहना मनैमा दबाएर राखे। तर पहिलो चरणको मतदानमा देउवालाई ८३ मत पुगेन।

'कृष्णप्रसाद सिटौलालाई काखा र विश्वप्रकाश शर्मालाई पाखा लगाउँदा पहिलो चरणबाटै जित निकाल्न चुकेका हुन् देउवा', नाम उल्लेख नगर्ने शर्तमा देउवा निकट एक महाधिवेशन प्रतिनिधिले भने, 'नभए दोस्रो राउन्डमा चुनावसम्म जाँदैनथ्यो।'

जब दोस्रो राउन्डमा चुनाव धकेलियो, मंगलबार बिहानैबाट देउवाको चुनावी दौडधुप सुरु भयो। देउवा लैनचौरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगे। त्यहाँ एकछिन बोलेर सभापतिको रेसबाट बाहिरिएका प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगे। चाक्सीबारीमा देउवाले आफू पुग्नुअघि आफ्ना दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाणलाई पठाएका थिए। देउवा पुगेको केही बेरमै चाक्सीबारीबाट सन्देश आयो - प्रकाशमानको समर्थन देउवालाई।

त्यसपछि देउवा कुदे विमलेन्द्र निधि भेट्न। निधि पनि सभापतिको रेसबाट आउट भइसकेका थिए। संस्थापनमै रहेर उपसभापति भएका निधिले देउवाविरुद्ध उम्मेद्वारी दिएका थिए। दोस्रो चरणमा निर्वाचन गएमा सबै मिलेर देउवालाई हराउनुपर्छ भन्ने निधिले देउवा आफ्नो निवास आइपुगेपछि उनैलाई समर्थन गरे।

हुँदाहुँदा सभापतिको रेसमा अन्तिम नम्बरमा रहेका कल्याण गुरुङले समेत देउवालाई समर्थन गरेको भिडियो आयो। यतिमात्र हैन, माहोल बिग्रने डरले देउवा मतदानस्थल दिनभर ढुकेर बसे। मतदानस्थलमा कडाई गरिएको थियो। मतदानका लागि एकोहोरो लाइन बनाएकोले मतदाता तीन घन्टासम्म लाइनमा उभिनुपरेको थियो। जसले गर्दा मतदाता आक्रोशित बनेका थिए। उनीहरु निर्वाचन समितिसँग रुष्ट देखिन्थे व्यवस्थापनप्रति। तर देउवा भने ढुक्कैसँग साँझ मतदान नसकिँदासम्म मतदान केन्द्र ढुकेर बसे। महाधिवेशन प्रतिनिधिसँग मत मागिसकेरमात्र निस्किए।

न रामचन्द्रको साथ, न शशांकको हात

कांग्रेसमा पुस्तान्तरणको नारा घन्किन थालेको थियो। तर यसपटक पनि रुपान्तरण नारामा सीमित भयो। यही आवाजलाई बुलन्द बनाउन अहोरात्र खटेको संस्थापन इतरमा निर्वाचन अघि तितरबितर बन्यो। मोर्चा सम्हाल्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले हात उठाए। यता तितरबितर बनेको टिमका पदाधिकारी सभापतिका उम्मेद्वारीबिनै कसैले महामन्त्रीमा त कसैले सहमहामन्त्रीमा उम्मेद्वारी दिन थाले।

अन्तत उनीहरुको शिर तय भयो - डा शेखर कोइराला। कोइराला प्यानलसहित मैदानमा उत्रिए। उपसभातिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल, सहमहामन्त्रीमा कमला पन्त, जीवन परियार, विकास लामा, देवराज चालिसे, रामकृष्ण यादव, शेख वकिल, तेजुलाल चौधरी र बद्री पाण्डे देखिए। टिम लोभलाग्दो देखियो। लगत्तै संस्थापन इतरमै रहेका प्रकाशमानले पनि सभापतिमा दाबेदारी पेश गरे। प्रकाशमानको पक्षमा सुजाता कोइराला उभिन पुगिन्। प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमानकै टिमबाट महामन्त्रीका उम्मेद्वार बने।

संस्थापनबाट देउवासहित उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार र महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल मैदानमा उत्रिएका थिए। यता प्रकाशमानको टिमबाट पनि उस्तै टक्कर हुने। यस्तो अवस्थामा डा शेखर टिमले पौडेलको साथ र शशांकको हात खोजे। तर पौडेल न त मत माग्न आए न त मत दिनै। यता महामन्त्री रहेका डा. शशांकले पनि आफू कुनै गुटमा नरहेको घोषणा गरे। यतिमात्र हैन शशांकले सभापति तथा प्रधानमन्त्री देउवासँग पटक-पटक भेट गरेको समाचार बाहिरिए।

जसले गर्दा निकै कमजोर देखिए डा. शेखर। यसले पनि धेरैको अनुमान देउवालाई बुझाएकोजस्तै थियो - पहिलो राउन्डमै सभापतिमा देउवा जित्छन्। तर अनुमान फेल खायो। मत अग्रता कायम गरे पनि देउवासँग कडा टक्कर दिए शेखरले। अन्ततिर आउँदामात्र देउवाले मतान्तर बढाएका थिए। दोस्रो चरणको मतदान हुने भएपछि मंगलबार प्रकाशमान र निधिको समर्थन पाए देउवाले। यो खबर महाधिवेशन प्रतिनिधिमाझ तुरुन्तै फैलिए। नवलपरासीदेखि पोखरा पुगेकाहरु जहाजमार्फत मत हाल्न फर्किए। यही समयमा भृकुटीमण्डपमा हल्ला फैलिएको थियो - शेखरले हात उठाउँदैछन्। तर केहीबेरमा नक्सालको होटल आराण्यमा शेखरले पत्रकार सम्मेलन गरे र आफूले वाकओभर नदिने, चुनावमै सामना गर्ने घोषणा गरे। त्यसपछि उनी पक्षका मतदाता पनि लामबद्ध बने राष्ट्रिय सभागृहमा। देउवाले ढुकेरै मत मागिरहँदा शेखर पनि लाइनमा मतदातासँग मत माग्न व्यस्त भए। दोस्रो राउन्डको चुनावी परिणाम आउन त बाँकी छ। तर पहिलो चरणमै शेखरले संस्थापन इतरलाई राम्रो कभर गरेका छन्।

शेखरले कसरी कभर गरे संस्थापन इतर?

जुनियर नेताको आरोप लगाउँदै कतिपयले शेखरले खासै मत ल्याउन नसक्ने दाबी गरेका थिए। त्यसमाथि संस्थापन इतरको तितरबितर। मोर्चा सम्हालिरहेका कमान्डर पौडेलले साथ छोडिदिँदा र भरोसा गरेका नेता डा शशांक पनि नखुल्दा शेखरको उम्मेद्वारी संकटमै परेजस्तो देखिन्थ्यो। त्यसैगरी कोइराला परिवारकै सुजाता कोइराला पनि प्रकाशमानतिर लाग्दा झनै कमजोर देखिन्थ्यो टिम शेखर।

यस्तो अवस्थामा पनि शेखरले ३७ प्रतिशत मत पाए। यो अत्यन्तै सुखद् रहेको र कांग्रेसमा कोइराला परिवारको पुनरोदयको संकेत शेखरले गरेको बताइन्छ। यसो त कांग्रेसमा शेखरले अब सशक्त प्रतिपक्षीका रुपमा उभिनेगरी बलियो जनमत पाएका छन्।

पाँच वर्षको अथक मेहेनतले नै र रुपान्तरणको नाराले उनलाई यहाँसम्म ल्याएको उनी पक्षका नेता बताउँछन्। टिममा गगन थापाको साथ र सहमहामन्त्रीमा हाम्रालाई भन्दा राम्रालाई समेटेकोले राम्रो मत पाएको उनीहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell