PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने, निजी क्षेत्रसँग सम्झौता गर्न गृहकार्य थाल्दै



पहिलोपोस्ट

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने, निजी क्षेत्रसँग सम्झौता गर्न गृहकार्य थाल्दै

काठमाडौं: नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ। नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको छ।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआइ) को प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका छन्।

'नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ। त्यो विद्युत हामी खरिद गर्न सक्छौँ,’ उनले भने। 

उपयुक्त बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा करिब ५ अर्ब रूपैयाँ बराबरको ५ सय मेगावाट विद्युत खेर गएको थियो। पर्याप्त प्रसारणलाइन र आन्तरिक एवम् बाह्य बजारको अभावका कारण उत्पादित विद्युत खेर गइरहेको छ। 

राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उनले जनवरी २०२२ बाट नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिक्रिया दिए। 
मार्चमा नेपाल भ्रमण गरेर यी विषय टुंग्याउन आफु इच्छुक रहेको राज्यमन्त्री नसरुलले बताए। 

बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता (पिपिए) गराउने गृहकार्य सुरु गर्ने पनि उनले बताए। 

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको थियो। बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ। अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ। नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ। 

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरेका छन्। अग्रवालले नेपालको निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell