PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

­राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन



पहिलोपोस्ट

­राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन
तस्बिर : राखेप

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिवस्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो।

सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी रहेका छन्। सचिवमा तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहाल छन्।

खेलकुदको माध्यमबाट के कसरी अन्तर्राष्ट्रिय स्तरमा शसक्त सहभागिता गराइ उल्लेख्य पदक प्राप्त गरी राष्ट्रको गौरव र प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने विषयमा कार्यदल केन्द्रीत रहने छ। र, खेल, खेलाडी, प्रशिक्षण र प्रतियोगिताको स्तरलाई स्वच्छ, निश्पक्ष र निर्विवाद रुपमा सुधार गरी आगामी दिनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा शसक्त सहभागिताका लागि खेलकुदलाई समयानुकुल सुधार गर्दै उद्देश्य प्राप्तीसहितको अन्तर्राष्ट्रिय सहभागिता अत्यन्त आवश्यक देखिएको हुँदा राखेपमा उपयुक्त प्रतिवेदन पेश गर्न ९ बुँदे कार्यदेश (टीओआर) सहित कमिटी गठन गरिएको हो।

कार्यदेशमा आगामी एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सम्भावित खेलगत पुष्ट्याइ र संख्या निर्धारण, एसियाली खेलकुदमा नेपालले खेलगत रुपमा सहभागी हुने खेलाडी संख्याको पुष्ट्याइसहित निर्धारण गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने लगायतका विषयहरु छन्।

त्यस्तै खेलगत खेलाडीको स्वच्छ, निष्पक्ष र निर्विवाद रुपमा उत्कृष्ट खेलाडी छनोट गर्ने, राष्ट्रिय टिम तयारीका लागि निष्पक्ष रुपमा दक्ष प्रशिक्षकको छनोट गर्ने, बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण पद्धतिको अनुगमन निरिक्षण गरी प्रशिक्षणको क्रममा देखिएका त्रूटिलाई सुधार लगायत गरी नतिजामुलक तयारी, राखेपबाट उपलब्ध हुने सेवा सुविधालाई समयानुकुल सुधार गरी नियमित बनाइ व्यवस्थापन गर्ने, खेलकुदको प्रशिक्षण क्रममा अति आवश्यक प्रशिक्षण सामाग्री र पद्धतिको पहिचान गरी सोको उचित व्यवस्थापनका लागि सिफारिस गर्ने, राष्ट्रिय खेल संघहरुसंग आवश्यक समन्वय गर्ने र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समन्वय कायम गर्ने सम्बन्धमा रहेका छन्।

कमिटीको सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले आवश्यक छलफल गर्न राष्ट्रिय खेल संघलाई बैठकका लागि आमन्त्रण गर्ने निर्णय गरेको सचिव दाहालले जानकारी गराए। बैठकमा सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुष्ट्याइ, खेलाडी छनोट त्रूटिरहित हुनु पर्ने, प्रशिक्षकको स्तर वृद्धि र कुरा भन्दा नतिजामुखी काममा ध्यान दिनु पर्नेमा जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell