PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सवारी लाइसेन्सको नवीकरणको अवधि दोब्बर बनाइदै, १० वर्षमा नवीकरण गरे हुने मस्यौदा



पहिलोपोस्ट

सवारी लाइसेन्सको नवीकरणको अवधि दोब्बर बनाइदै, १० वर्षमा नवीकरण गरे हुने मस्यौदा
फाइल फोटो

काठमाडौं। एकपटक दिइने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि ५ वर्षको हुन्छ। अब अवधि दोब्बर अर्थात् १० वर्ष बनाइने भएको छ। 

यातायात व्यवस्था विभागले प्रस्तावित 'सवारी तथा यातायात व्यवस्था ऐन २०७७'मा लाइसेन्सको अवधि १० वर्ष बनाउन लागिएको छ। यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा गर्दै आएको नवीकरण १० वर्षमा गरे हुनेछ। 

अहिले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्दा यातायात कार्यालयहरुमा थेगिनसक्नु भीडभाड हुने र स्मार्ट लाइसेन्ससमेत सहज बनाउन नसकिएको भन्दै १० वर्षका लागि प्रस्ताव गरिएको हो। लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षण लगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्छ। सोही कारण यातायात कार्यालयहरुमा भीड हुने गरेको छ। 

यातायात व्यवस्था विभागले आवश्यक पूर्व तयारी नै नगरी स्मार्ट लाइसेन्स अनिवार्य गरेकाले वितरण सहज हुन सकेको छैन। ट्रायल पास गरेर पनि नयाँ लाइसेन्स लिनका लागि वर्षदिनभन्दा बढी कुर्नुपर्ने अवस्था छ। नवीकरण गराउनेले पनि एक वर्षभन्दा बढी कुर्नु परेको छ। लाइसेन्स नवीकरणका लागि दस्तुर बुझाएर बायोमेट्रिक गरेकाहरुले यातायात कार्यालयको रसिद बोकेर हिड्नु परेको छ।

अहिले नवीकरण र ट्रायल पास गरेका करिब ६ लाख जना रसिदका भरमा हिडेका छन्। १० वर्षमा नवीकरण गरे लाइसेन्स वितरणसमेत केही सहज हुने अपेक्षा विभागका अधिकारीहरुको छ।

देशभरका यातायात कार्यालयहरु आफ्नै सफ्टवेयरमा जोडिएको भए पनि प्रदेश-प्रदेशका कार्यालयहरुका सेवाग्राहीलाई सम्बद्ध प्रदेशको कार्यालय नै पुग्नुपर्ने बाध्यात्मक व्यवस्था भने विभागले हटाएको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell