PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आवासको व्यवस्थापनमा मुख्यमन्त्री राई: एक हप्तापछि मन्त्रिपरिषद विस्तार, प्रदेश नामाकरण हिउँदे अधिवेशनमा



पहिलोपोस्ट

आवासको व्यवस्थापनमा मुख्यमन्त्री राई:  एक हप्तापछि मन्त्रिपरिषद विस्तार, प्रदेश नामाकरण हिउँदे अधिवेशनमा

विराटनगर:  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवनलाई आवासका रूपमा प्रयोग गर्न थालेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि राई बुधबार सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवनमा सरेका हुन्। राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

‘म मुख्यमन्त्रीमा नियुक्त भएपछि २ दिन होटलमा बसेँ’, आयोजनाको भवनमा स्थानीय सञ्चारकर्मीसित राईले भने, ‘किनभने अघिल्ला मुख्यमन्त्रीज्यू (भीम आचार्य)–ले लक्ष्मीपूजा गरेपछि मात्रै आफू बसिरहेको ठाउँ छाड्छु भन्नुभयो।’

निवर्तमान मुख्यमन्त्री आचार्यले आफ्नो आवास विराटनगरस्थित नेपाल राष्ट्र बैङ्कको गेस्ट हाउसलाई बनाएका थिए। आचार्यले खालि गरेपछि उक्त गेस्ट हाउसमा गत कात्तिक १९ देखि बसेका मुख्यमन्त्री राईले अब सुनसरी मोरङको गेस्ट हाउसलाई मुख्यमन्त्रीको स्थायी आवास बनाउने घोषणा गरेका हुन्।

उनले प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै बालुवाटार गएजस्तै यहाँ पनि मुख्यमन्त्री नियुक्त हुनेबित्तिकै स्थायी आवासमा जाने वातावरण बनाउन आफू लागिपरेको जानकारी दिए।

‘हामी कुनै निजी घरकम्पाउन्ड खोजेर महँगो भाडा तिरेर त्यसलाई आवास बनाउने पक्षमा छैनौँ’, मुख्यमन्त्रीको भनाइ थियो, ‘हामी आवासका लागि सरकारी भवन नै रोज्ने र खोज्ने प्रयास गरिरहेका छौँ। मन्त्रीजीहरूलाई पनि सरकारी भवनमै आवास बनाउने योजना छ।’

मुख्यमन्त्री राईले काठमाडौंमा मासिक ४ लाख भाडा तिरेर खोलिएको सम्पर्क कार्यालय बन्द गरिएको घोषणा गरे।

उनले केन्द्र सरकारले सातै प्रदेशका मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास र कार्यालयको बन्दोबस्त गरिदिएको उल्लेख गर्दै महँगो भाडा तिरेर छुट्टै सम्पर्क कार्यालय खोल्नुको औचित्य नभएको जिकिर गरे।

प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईका आदेशमा मासिक ४ लाख तिर्ने गरी काठमाडौंमा छुट्टै सम्पर्क कार्यालय खोलिएको थियो।

मुख्यमन्त्री राजेन्द्रले काठमाडौंस्थित सम्पर्क कार्यालयका सबै फर्निचर लगायतका सामग्री विराटनगर ल्याइएको बताए।

प्रदेशका पहिलो मुख्यमन्त्री शेरधनले विराटनगरमा एक निजी घरकम्पाउन्डलाई मासिक ६० हजार रुपैयाँ तिरेर आवास बनाएका थिए। उनी पदबाट हटेपछि पनि उनले त्यस घरलाई छाडेनन्। यसका कारण उनीपछिका मुख्यमन्त्री भीम आचार्यले राष्ट्र बैङ्कको गेस्ट हाउस पुग्नुपर्यो। शेरधन अहिले पनि सोही घरमै बसिरहेका छन्। अब आफूले व्यक्तिगत रूपमा तिर्नुपरेपछि उनले उक्त घरको भाडा मासिक ३० हजार तिरिरहेको बताइएको छ।

मुख्यमन्त्री राजेन्द्रले आफू र प्रदेशका मन्त्रीहरू सरकारी भवनमै बसेर सरकारको खर्च कटौती गर्ने पक्षमा रहेको दोहोर्याए ।

एक हप्ताभित्र मन्त्रीमण्डल विस्तार

मुख्यमन्त्री राईले एक हप्ताभित्रै प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिइने जानकारी दिए।

उनले अहिले भइरहेका ७ मन्त्रालयलाई फुटाएर ९ वा ११ वटा बनाइने जनाए।

‘नेपाली काङ्ग्रेसका साथीहरू महाधिवेशनमा व्यस्त हुनुहुन्छ’ मुख्यमन्त्री राई बोले, ‘उहाँहरू फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिइनेछ। थोरै मन्त्रालय हुँदा काम गर्न भ्याइँदो रहेनछ। धेरै ठूलो बनाउनु पनि राम्रो हुँदैन। त्यसैले ९ वा ११ मन्त्रालय बनाउने सोच छ।’

प्रदेश नामकरण हिउँदे अधिवेशनमा

उनले मन्त्रिपरिषदले पूर्णता पाएपछि प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा प्रदेशको नामकरण गरिने स्पष्ट पारे।

‘प्रदेशको नामकरण गर्न प्रदेश सभाको दुई तिहाईले निर्णय गर्नुपर्छ’, राईले सुनाए, ‘तर हामी कसैको पनि दुई तिहाई छैन। तथापि हामी सबैको सहमतिमा प्रदेशको नामकरण टुङ्ग्याउनेछौँ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell