PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मञ्चमा बादललाई राखेर ओलीको प्रश्न : ‘जनयुद्ध’ का नाममा नेपालमा अस्थिरता मच्चाउन कसले दियो हतियार?



पहिलोपोस्ट

मञ्चमा बादललाई राखेर ओलीको प्रश्न : ‘जनयुद्ध’ का नाममा नेपालमा अस्थिरता मच्चाउन कसले दियो हतियार?
फोटो केन्द्रीय सदस्य विष्णु रिजालको फेसबुकबाट।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध’ परिवर्तनका लागि नभई अस्थिता निम्त्याउनका लागि गरिएको आरोप लगाएका छन्।

बुधवार च्यासलमा आयोजित कार्यक्रममा मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउँदै उनले यस्तो आरोप लगाएका हुन्। मञ्चमा उनीसँगै थिए जनयुद्धको सुरुवातदेखि माओवादी नेतृत्वमा रहेका रामबहादुर थापा ‘बादल’, नेता लेखराज भट्ट। मञ्चदेखि तल केही पूर्व माओवादी नेताहरु पनि थिए।

ओलीले जनयुद्धलाई गाली गर्दै गर्दा उनीहरु मौन रहे। हुन त उनीहरु यतिबेला माओवादी नेता होइनन्। एमाले नेतामा रुपान्तरण भएका छन्। बादल उपाध्यक्ष, टोपबहादुर रायमाझी र भट्ट एमालेका सचिवका रुपमा।

एमाले अध्यक्ष ओलीले जनयुद्धमा नेपालमा अस्थिरता ल्याउनका लागि हतियार पठाएको बताए। उनले कहाँबाट कसले हतियार दियो? भनेर प्रश्न सोधे। ओलीले यो प्रश्न सोध्दै गर्दा नव एमाले अर्थात् पूर्व माओवादी नेताहरु भने झोक्राएर मञ्चमा आसिन थिए।

के भनेका थिए ओलीले?

महान जनयुद्ध भनेर युवा र जनताहरुलाई महिलाहरुलाई दुर्गम ठाउँहरुबाट उरालियो। सुगम ठाउँहरुबाट उरालियो, सेन्टिमेन्टमा ल्याइयो। युवाहरु ज्यान दिन तयार भए।  होमिए। परिवर्तन भनेर। हतियार कहाँबाट आए? त्यतापट्टि फर्किएर हेर्न दिइएन। एउटा सेन्टिमेन्ट ल्याइयो। तर, यति बुझिएन। यति हेरिएन।कहाँबाट कसले हतियार दिँदैछ नेपालमा अस्थिरता ल्याउन?

नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो किन भने त्यो सफल गर्न सुरु गरेकै होइन। त्यो त अस्थिरता क्रियट गर्न। त्यो त एउटा बार्गेनिङ...। त्यो आफ्नो हातमा कन्ट्रोलको घोडाको लगाम आफ्नो हातमा हुन्छ नि, लगाम हातमा राख्ने एउटा विधि हो। त्रसित अशान्त अस्तव्यस्त, बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तर्गतको एउटा उदाहरण हो।

बाहिरका अरु देशका तालिम केन्द्रहरुमा तालिम दिइन्थ्यो बकाइदा। यो कुनै कथा त होइन। तालिम लिएर आएका त छँदै छन् नि। तर त्यतिबेला महान क्रान्तिको एउटा सेन्टिमेन्ट त्यतातिर लगियो। बुझ्न उनीहरुले राम्ररी पाएनन्। के गर्न खोजेको यस्तो? मामुली कर्मचारीहरु मामुली मान्छेहरु महान नेताको रुपमा प्रस्तुत भए। धोकापूर्ण ढंगले र देशले अधिक दु:ख पायो। अहिले पनि अस्थिरताका प्रयास अस्थिरताका निम्तिका औजार भएर त्यस्ता व्यक्तिहरु क्रियाशील छन्। 

माओवादीले सञ्चालन गरेको जनयुद्धका कटु आलोचक ओलीले यसअघि पनि माओवादी जनयुद्धलाई कहिले कुहेको फर्सी त कहिले के भन्दै आलोचना गर्दै आएका थिए। माओवादी जनयुद्धलाई परिवर्तनको सम्बाहक मान्ने नेताहरुलाई आफ्नो पार्टीमा भित्राएका ओलीले उनीहरुलाई मञ्चमै राखेर जनयुद्धको आलोचना गर्दै आएका छन्।

अर्कोतर्फ ओलीले हतियारको कुरा उठाउँदा माओवादी जनयुद्धको क्रममा हातहतियारको जिम्मा लिएका थिए, बादलले। पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनै वादलले सरकारको सैन्य विभागको नेतृत्व गर्ने मन्त्रालय रक्षा मन्त्रालयको नै जिम्मेवारी पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell