
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा फरक फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको बताएका छन्। पार्टीको वाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न समस्याहरु रहेको तर गठबन्धनका कारण आफूहरु बोल्न नसकेको बताएका हुन्।
उनले नेपालमा वामपन्थी पार्टी फुट्यो भन्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको समेत बताए। वामपन्थी पार्टीहरु अझै लोकप्रिय रहेको र फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण भइरहेको उनले बताएका हुन्।
'हामीहरु वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेका छौं। पार्टी फुट्यो भनेर चिन्ता नगर्नु' उनले भने।
उनले नागरिकलाई चेतनशील र संगठित बनाएर मात्रै परिर्वतन सम्भव भएको भन्दै वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए।
नेपालले शेरबहादुर नेतृत्वको सरकार कायम रहने भन्दै कांग्रेसका अरु नेता पनि गठबन्धनको पक्षमा रहेको बताए।