जनकपुरधाम : प्रदेश २ को प्रदेश सभामा पुस ८ गतेसम्मका लागि स्थगित गरिएको छ। आज बसेको बैठकमा दुईवटा अध्यादेश पेश गरिएको थियो। अध्यादेश पेश गरेसँगै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेको थियो।
त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक संचालन हुने अवस्था नभएपछि पुस ८ गते दिउँसो १ बजेसम्मका लागि प्रदेश सभा स्थगित भएको सूचना सभामुख सरोज यादवले दिएका थिए।
प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले बैठकमा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेश गरेका थिए। अध्यादेशमा असन्तुष्टि जनाउँदै लोसपाले बैठक अवरुद्ध गरेको हो।
बैठक अवरुद्ध भएपछि प्रदेशसभाको कार्यसूचीमा रहेको प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी रहेको प्रस्तावमा प्रवेश नै गर्न सकेन। बुधबार बसेको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका थिए।
मुख्यमन्त्रीको राजीनामा माग
प्रदेश सभको बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहिलो रिपोर्टमै साइकल खरिद प्रक्रियामा अनियमितता भएको बताउँदै उनले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन्। राजीनामा दिएर साइकल खरिदमा भएको अनियमिततामा छानविन गर्न राउतले सहयोग गर्नुपर्ने उनले बताए।