PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पार्टी पहिले झै वेथितिमा चलाए सशक्त प्रतिकार हुने शेखर कोइरालाको उद्‌घोष, अर्को पटक सफल हुने दावी



पहिलोपोस्ट

पार्टी पहिले झै वेथितिमा चलाए सशक्त प्रतिकार हुने शेखर कोइरालाको उद्‌घोष, अर्को पटक सफल हुने दावी

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई बेथितिमा हिँड्न नदिने बताएका छन्।

१४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि राजधानीमा आयोजित धन्यवाद कार्यक्रममा उनले शेरबहादुर देउवाको नेतृत्वले पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने घोषणा पनि गरे।

'उहाँसँग पार्टीभित्रको आन्तरिक लडाइँ हो। हाम्रो साथीहरु को को आउनु होला, त्यो बक्सा खोलेपछि निर्णय हुन्छ। उहाँ मात्र ४ वर्षका लागि सभापति हो। तर, साढे ५ वर्षसम्म बेथितिमा चल्यो पार्टी। फेरि त्यसरी नै प्रस्तुत भए, सशक्त रुपमा प्रस्तुत हुन्छौं।'

उनले सभापति पदमा आफूलाई सहयोग नगरी देउवालाई सहयोग गरेकाहरु प्रति कुनै टिप्पणी नगर्ने बताए। पहिलो चरणमा देउवाविरुद्ध रहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा उनैलाई समर्थन जनाएका थिए। उनीहरु प्रति आफ्नो भन्नु केही नभएको बताउँदै शेखरले भने, 'केही कुनै कुन्ठा छैन। कसले के किन गर्‍यो भन्ने कुरा मेरो मनमा छैन। पार्टी भित्रको कुरा हो। त्यो आफ्नो ठाउँमा छ।'

शेखरले आफूले पराजयमा पनि विजय प्राप्त गरेको दाबी गरे। महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधिहरुका साथै नेता कार्यकर्ताले देखाएको मायाले विजयी भएको उनको भनाइ थियो।

'पराजयमा पनि सबैभन्दा राम्रो मैले देखेको भनेको हाम्रो टिमले लिएको कदम विजय भएको छ। हाम्रो राजनीतिक एजेन्डा स्थापित भएको छ। युवाका लागि अवसर खोलेका छौं। गाउँ घरमा बस्दा नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुन्छु,' उनले भने।

शेखरले आफू आजैदेखि कांग्रेसको रुपान्तरणको लागि लागेको भन्दै निरन्तर घरदैलोमा पुग्ने बताए। साथै, आफ्नो टिमका सदस्यहरु पनि घरदैलोमा निस्कने बताए।

उनले भागबण्डा र गुटबण्दीको राजनीतिमा आफू नलाग्ने भन्दै काम गर्दै जाने र त्यहीँबाट देउवा समूहलाई सोच्न बाध्य बनाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell