
काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेको छ। कार्यवहाक सचिव प्रशान्त विक्रम मल्ले विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेको उल्लेख गरेका छन्।
कारबाहीमा परेका खेलाडीमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, खेलाडीद्वय सोमपाल कामी र कमलसिंह ऐरी छन्।
खेलाडी वर्गीकरणको विषयलाई लिएर ज्ञानेन्द्रसहितले असन्तुष्टि जनाएका थिए। असन्तुष्टिलाई सार्वजनिक सञ्चार माध्यममा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा चित्त नबुझाएको क्यानले उनीहरुलाई कारबाही गरेको हो।
चार खेलाडीलाई कारबाही गर्दै क्यानले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ। कप्तानको जिम्मेवारीमा यसअघि ज्ञानेन्द्र थिए।