PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगंज महानगरले २५ प्रअसहित १२५ शिक्षकको गर्‍यो सरुवा : कसैलाई कारबाही, कसैलाई प्रोत्साहन



राधेश्याम पटेल

वीरगंज महानगरले २५ प्रअसहित १२५ शिक्षकको गर्‍यो सरुवा : कसैलाई कारबाही, कसैलाई प्रोत्साहन

वीरगंज : वीरगंज महानगरपालिकाको शिक्षा समितिले महानगरपालिकाभित्र सञ्चालित विभिन्न सरकारी विद्यालयबाट १२५ शिक्षकहरुको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ। जसमध्ये सय जना सामान्य शिक्षक रहेका छन् भने २५ जना प्रावि, निमावि र मावि तहका प्रधानाध्यापकहरु रहेका छन्।

शिक्षा समितिको मंगलवार र बुधवार बसेको बैठकले ठूलो सङ्ख्यामा शिक्षक सरुवा गरेको शिक्षा समिति सदस्य एवं नेपाल शिक्षक महासंघ वीरगंज नगर समिति अध्यक्ष विनोद मेहताले बताए।

माईस्थान विद्यापीठ, नगवा, नृसिंह मावि पिपरा, त्रिभुवन हनुमान, कन्या, त्रिजुद्धलगायत विद्यालयका प्रधानाध्यापकको सरुवा गरिएको छैन। माइस्थान विद्यापीठमा दरबन्दी रहेर महानगरमा सम्पर्क व्यक्ति तथा समन्वयकर्ताको भूमिकामा रहेका शिक्षक दिनेश चौरसियालाई सहायक प्रअको जिम्मेवारी दिइएको छ भने जगरनाथपुर निमाविका प्रअ रामजी सुमन, लालपर्सा निमाविका प्रअ रामजी चौहान र बेलवा निमाविका प्रअ हासिम अन्सारीलाई प्रअको जिम्मेवारीबाट हटाइएको छ।

विद्यालयको शिक्षक सिकाइ तथा वातावरण सुधारमा प्रभावकारी भूमिका निर्वाह नगरेको र प्रअको पदीय जिम्मेवारी राम्रोसँग पालना गर्न नसकेकोमा उनीहरुलाई प्रअबाट हटाएर तीन जना अन्य शिक्षकलाई पदस्थापना गरिएको बताइएको छ। केही प्रअ र शिक्षकलाई दण्डित गर्दै वीरगंज शहरभन्दा टाढाका विद्यालय पठाइएको छ भने राम्रा शिक्षकहरुलाई प्रोत्साहनस्वरुप टाढाबाट नजिकका विद्यालयमा सरुवा गरिएको छ।

सुखचैना माविमा भएको विवादको कारण प्रअसहित आठजनालाई सरुवा गरिएको र उनीहरुको स्थानबाट शिक्षक, कर्मचारी पठाइएको छ। सुखचैनाका प्रअ राजकुमार सिंहसहित शिक्षकहरु शिवशंकर गुप्ता, लक्ष्मण यादव, प्रेम साह, लेखापाल दीपेन्द्र साह तेली, अवधेश पाण्डे र कार्यालय सहयोगी गरी आठजनालाई सो विद्यालयबाट सरुवा गरिएको छ।

त्यसैगरी, प्राथमिक विद्यालयहरुमा पठनपाठन राम्ररी गराउन नसक्ने प्रअहरुको सरुवा गरिएको छ भने अपायक परेका शिक्षकहरुको निवेदनउपर पनि विभिन्न चरणमा छलफल गरी निर्णय भएको नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर कमिटीका अध्यक्ष मेहताले बताए।

वीरगंजको ३२ वटा वडामा प्रावि, निमावि र मावि गरी ९९ वटा विद्यालयमा करीब ८ सयको हाराहारीमा शिक्षकहरु कार्यरत रहेकोमा विभिन्न स्थानका विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाहरुको निवेदन र गुनासोमाथि  मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको  शिक्षा समितिका सदस्यहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell