PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१३ वर्षपछि ब्युँताइँदै पुरानो नियमः मोटरसाइकल पछाडि बस्नेलाई पनि अब हेल्मेट अनिवार्य!



पहिलोपोस्ट

१३ वर्षपछि ब्युँताइँदै पुरानो नियमः मोटरसाइकल पछाडि बस्नेलाई पनि अब हेल्मेट अनिवार्य!
फाइल तस्विर : नेकपा एमालेले निकालेको मोटरसाइकल र्‍याली

काठमाडौं : महानगरीय ट्राफिक महाशाखाले २०६५ सालमा दुई पांग्रे सवारी साधनको पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने नियम ल्याएको थियो। केही समय प्रहरीले नियमलाई अनिवार्य गर्न पनि खोजेको थियो। तर, मोटरसाइकल चलाउनेसँगै पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो। चौतर्फी रुपमा आलोचना भएपछि असफल भयो।

त्योबेला अव्यवहारिक मानिएको नियम फेरि लागू हुने भएको छ। मोटरसाइकल र स्कुटरका चालकसँगै यात्रा गर्ने अन्य यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी ऐनमै व्यवस्था गरेर अनिवार्य हुन लागेको हो। इन्जिनयुक्त सवारी साधनमध्ये सर्वाधिक संख्यामा प्रयोगमा रहेको मोटरसाइकल र स्कुटर हो। तर, मोटरसाइकल चालक दुईवटा हेलमेट लिएर यात्रा गर्दैनन्।

सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा नै चालकसँगै पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको हो। 'सवारी तथा यातायात व्यवस्था ऐन २०७७' को ड्राफ्ट तयार भएर राय, सुझावका लागि कानुन मन्त्रालय पठाइएको छ।

उक्त ऐनमा 'मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ,' भनि उल्लेख गरिएको छ। तुलनात्मक रुपमा दुई पांग्रे सवारी साधनको दुर्घटना धेरै हुने र पछाडि बस्ने यात्रुको 'हेड इन्जुरी'का कारण ज्यान जाने गरेको भन्दै हेल्मेट अनिवार्य गर्न लागिएको हो।

'ऐन नै नबनाइ कार्यान्वयन गर्न सकिने अवस्था थिएन। अब ऐनमा नै व्यवस्था भएपछि नमानेर हुन्छ ?,' एक अधिकारीले भने,'गुणस्तर विभागले तोकेको आधारमा हेल्मेट लगाउनुपर्छ। ऐन आएपछि नलगाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्छ।'

यस्तो हुन लागेको छ ऐनमा

ऐनमा चार पांग्रे सवारीमा चालक तथा अघिल्लो सीटमा बस्ने व्यक्तिले सुरक्षापेटी अनिवार्य बाध्नुपर्ने उल्लेख छ। चालकसँगै अघिल्लो भागमा बस्ने यात्रुले पनि अब सिट बेल्ट बाँध्नु पर्नेछ। त्यसैगरी सरकारले मध्यम तथा लामो दुरीमा संचालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुले सुरक्षापेटी लगाउनुपर्ने गरी तोक्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार नेपालमा दर्ता भएका कुल सवारीको संख्या ३९ लाख ८७ हजार २६७ छ। दर्ता भएकामध्ये १.४  प्रतिशत सार्वजनिक सेवाका बस छन्। ७९.३ प्रतिशत दुई पांग्रे सवारी छन्। यो करिब ३१ लाख ६२ हजार वटा मोटरसाइकल हो। 

यसअघि हेल्मेट अनिवार्य गर्ने विषयमा अर्बौ रुपैयाको हेल्मेट बिक्री हुने भन्दै स्वार्थका आधारमा ल्याइएको नियम भन्दै विरोध गर्ने गरेका थिए।                                                                                                            

यस्तै, ऐनमा यात्रुवाहक सवारी साधनमा अपारदर्शी सिसा राख्न नपाइने नियम प्रस्ताव समेत गरिएको छ। सरकारले सुरक्षाको दृष्टिबाट उपयुक्त ठहर्‍याएका सवारीमा बाहेक अन्य कुनै यात्रुवाहक साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा राख्न वा सिसामा अन्य कुनै वस्तुको प्रयोग गरी अपारदर्शी बनाउन नहुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell