काठमाडौंः बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि एक घण्टादेखि भरतपुर विमानस्थल बन्द भएको छ।
बुद्धको ९ एनइइ कलसाइनको बिचक्राफ्ट जहाज काठमाडौंतर्फ टेकअफ गर्दा प्रावधिक समस्या आएपछि विमानस्थलनै बन्द भएको हो।
'टेकअफ गरिएको जहाज पुन: अवतरण गरिएको छ। अहिले जहाज तानिदैछ,' बिमानस्थल प्रवन्धक परवेज आलम सिद्दिकीले भने। जहाजमा १७ यात्रु थिए। उनका अनुसार यो जहाज १ बजेर १६ मिनेटमा टेक अफ भएको थियो। रन वे क्लियर भएपछि विमानस्थल खुला गरिने उनले जानकारी दिए। नागरिक उड्डयन प्राधिकरणले जहाजको प्राविधिक जाँचका लागि जनशक्ति पठाइसकेको जनाएको।
जहाजमा एकपछि अर्को समस्या देखिन थालेको छ। जहाजमा प्राविधिक समस्या आउँदा समेत कम्पनीको व्यवस्थापनले गम्भीर रुपमा लिने गरेको छैन। जहाजमा प्राविधिक समस्या आएको विषय संचारमाध्यममा प्रकाशित हुँदा उल्टै ढाकछोप गर्दै आएको छ।
'प्राविधिक समस्या आउनु स्वभाविक प्रक्रिया होला। तर कम्पनी व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएका थिएनन्,' प्राधिकरणका एक कर्मचारीले भने, 'जहाजको उचित मर्मत सम्भार लगायतलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा उल्टै व्यवस्थापनका उच्च अधिकारी ढाकछोपको विज्ञप्ति निकालेर बस्ने गरेका छन्।