PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पार्टीभित्र मेरो अवस्था संकुचित भयो, श्रीमतीले हुन्छ भनेपछि राजीनामा टाइप गराएँ : मीनेन्द्र रिजाल



पहिलोपोस्ट

पार्टीभित्र मेरो अवस्था संकुचित भयो, श्रीमतीले हुन्छ भनेपछि राजीनामा टाइप गराएँ : मीनेन्द्र रिजाल

काठमाडौं : रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएका छन्। १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका उनले पराजयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

आज भएको मतगणनामा महामन्त्री पदमा शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका गगन थापा र प्रकाशमान सिंहको तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

गगन ३ हजार ८ सय ९ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्माले १ हजार ९ सय ८४ मत पाउँदै महामन्त्री बनेका हुन्। दुवैले पपुलर मत ल्याउँदा शेखर प्यानलबाटै प्रतिस्पर्धामा उत्रेका मन्त्री रिजालले ८ सय ९ मत मात्रै हासिल गरे।

पराजयपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रिजालले प्रधानमन्त्रीलाई राजीनामा दिएको जानकारी दिएका हुन्। त्यसक्रममा उनले पार्टीभित्र आफ्नो अवस्थाबारे सोचेर पदबाट राजीनामा दिएको बताए।

महाधिवेशनको समयमा रिजालले देउवा निर्वाचनपछि निवर्तमान सभापति हुने बताएका थिए। तर, शेखरलाई हराउँदै देउवा दोस्रोपटक निर्वाचित भएपछि उनलाई नैतिक दवाव सिर्जना भएको थियो।

आज आफ्नो राजीनामाबारे जानकारी दिँदै रिजालले भने, 'पार्टीभित्र मेरो अवस्था अत्यन्त संकुचित भएको छ।'

उनले आफ्नी श्रीमतीसँग सल्लाह नगरी राजीनामा दिने निर्णय गरेको र पछि उनले हुन्छ भनेपछि राजीनामा टाइप गराएको बताए।

'श्रीमतीलाई भन्नुभन्दा पहिला राजीनामा गर्ने निर्णय गरेँ। श्रीमतीले हुन्छ भनिन्। सचिवलाई टाइप गर्न भने,' उनले भने।

रिजालले मत गणना हुँदै गर्दा राजीनामा दिने घोषणा सामाजिक संजालबाट घोषणा गरेका थिए। त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले फोन गरेर राजीनामा उचित हो र भन्दै सोधेको समेत उनले बताए। 

'रामचन्द्र पौडेल र कृष्ण सिटौलाले फोन गरेर यस्तो गर्न उचित छ र भनेर सोध्नुभयो। प्रधानमन्त्रीले पनि साँच्चै राजीनामा गर्ने हो र भन्नु भयो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell