PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

मन्त्रीबाट बिदा हुँदै सक्रिय राजनीतिबाट अलग हुने बाटोमा लागेका हुन् मीनेन्द्र रिजाल?



प्रकाश भण्डारी

मन्त्रीबाट बिदा हुँदै सक्रिय राजनीतिबाट अलग हुने बाटोमा लागेका हुन् मीनेन्द्र रिजाल?

काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले बिहीबार पदबाट राजीनामा दिएका छन्। रिजालको राजीनामा १४औँ महाधिवेशनमा महामन्त्री पदबाट पराजित भएलगतै आएको थियो। राजीनामाबारे औपचारिक घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रिजालले बेलिविस्तार लगाए। उनले आफू पराजित भएमा राजीनामा दिने निर्णयमा पहिल्यै पुगेको बताए।

यद्यपि रिजालको उक्त निर्णय भने राजीनामा दिनुभन्दा केहीबेरअघि मात्रै परिवार र मन्त्रालयका अधिकारीलाई जानकरी गराएका थिए। उनको राजीनामा रोक्न कांग्रेसकै नेताहरुले पहल गरे पनि रिजाल निर्णयबाट पछि हटेनन्। महामन्त्रीको मतगणनाको नतिजामा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा रिजाल पराजित भएका थिए।

उनले ८०९ मत ल्याए। थापाले ३०२३ र शर्माले १९८४ मत ल्याए। यस्तै प्रदीप पौडेलले १३९३, प्रकाशशरण महतले १५५६ र राजाराम कार्कीले १०६ मत ल्याए। रिजाल अन्तिममबाट दोस्रो भए। उनी सभापतिमा पराजित नेता शेखर कोइरालाको प्यानलबाट उम्मेद्वार बनेका थिए। उनले महाधिवेशनअघि सभापति शेरबहादुर देउवालाई केही दिनमै निवर्तमान बनाउने अभिव्यक्ति दिएका थिए।

पौडेल र सिटौलाले खोजेका थिए रोक्न

रिजालले मतगणना हजारभन्दा माथि पुगेपछि प्रतिस्पर्धीसँग ठूलो अन्तर भएकाले राजीनामाको निर्णयमा पुगेको बताए। उनले सबैभन्दा पहिला श्रीमतीलाई भनेको बताए।

'मेलै रिजल्ट गोलमाल छ भनेँ। उनले के गोलमाल भनिन्। निकै पछाडि छु भनेँ। अनी मैले राजीनामा दिन्छुभन्दा हुन्छ भनिन्,'रिजालले भने।

उनले त्यसपछि मन्त्रालयका सचिवलाई निर्णयबारे जानकारी गराएको बताए। नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले रिजालको राजीनामा रोक्न खोजेका थिए। 'रामचन्द्र पौडेल र कृष्ण सिटौलाले फोन गर्नुभयो। यस्तो गर्न आवश्यक छ र? भन्नुभयो,'उनले भने।

निर्णबारे नेताहरुसँग छलफल भएलगतै उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए।

किन राजीनामा?

महामन्त्री पदमा हारेपछि आफूलाई मन्त्री रहिरहने आधार नभएकाले राजीनामा गरेको रिजालको भनाई छ।

'एउटा व्यक्तिलाई काम गर्दा उपलब्ध हुने पुँजी उपलब्ध नहुने भएपछि मेरा प्रयास निरर्थक हुनेछन् भन्ने लागेर मैले निर्णय गरेको हुँ,'उनले भने।

आफूले ठूलो मतान्तरले हारेकाले भागबण्डा खोजेर मन्त्री रहिररहन नचाहेको बताए। उनले आफूले जबर्जस्ती मन्त्री भइरहन उचित नठानेको जानकारी दिए। आफूले अहिलेसम्म कमाएको इज्जतलाई कायम राख्न राजीनामा गरेको उनको भनाई छ। 

'भविष्य त कसैले देखेको छैन। आजको दिनमा एकाएक मीनेन्द्र रिजाल राजनीतिबाट हरायो भने मान्छे त ठिकै हो अझ भएको भए राम्रो हुने थियो भन्ने अवस्थामा राजीनामा दिएको छु,' रिजालले भने।

कांग्रेसमै नरहने संकेत

चुनावमा हार ब्यहोरे राजनीतिमा नरहने संकेत रिजालले उम्मेद्वारी घोषणाकै क्रममा गरेका थिए। नक्सालस्थित होटल आरान्यमा आयोजित कार्यक्रममा रिजालले हारेमा विदेश गएर रिल्याक्स जीवन बिताउने समेत बताएका थिए।

मन्त्रीबाट राजीनामा दिँदै मन्त्री रिजालले आफू क्रियाशील राजनीतिमा नरहन सक्ने पनि बताए। यद्यपि त्यसबारेमा अन्तिम निर्णय नभएको उनको भनाइ छ। 'एउटा कुरा पक्कै हो राजनीतिमा रहुँ/नरहुँ कांग्रेसमा क्रियाशील रहुँ वा नरहुँ देशका लागि अझ बढी काम गर्न सक्ने क्षमता र आँट छ भन्ने लाग्छ, 'उनले भने,'जेसुकै स्थिति होस् ऐनामा हेरेर आफैँले आफैँलाई गाली गर्ने स्थिति नहोस् भन्ने चाहन्छु।'

मन्त्रीबाट राजीनामा दिने निर्णयभन्दा महत्वपूर्ण निर्णयको तयारीमा रहेको रिजालको भनाई छ। त्यसका लागि आफू दृढ भएको उनको भनाई थियो। 'म दृढ निर्णयमा उभिएको छु। हारेको थाकेको सिपाही जस्तो होइन। आउने दिनमा देश सेवा अझ बलियोसँग गर्न सकुँ,'उनले भने।

शशांकको पक्षमा नउभिएको साँचो होइन

मन्त्री रिजालले आफू एक वर्षअघिदेखि कांग्रेस नेता शशांक कोइरालालाई सभापति बनाउने गृकार्यमा जुटेको बताए। तर, त्यो सफल नभएपछि अर्का नेता रामचन्द्र पौडेललाई सभापति बनाउनका लागि लागेको बताए। दोस्रो प्रयास पनि असफल भएपछि महाधिवेशनकै मुखमा मात्रै शेखर कोइरालालाई सभापति बनाएर अघि बढ्न सक्ने निर्णयमा पुगेको उनको भनाई छ। उनले नेपाली कांग्रेसको पदाधिकारी संख्या नै धेरै भएकाले समस्या हुने गरेको बताए। उनले महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जितेकाले आफूले चाहेको जस्तो कांग्रेसमा नेतृत्व आउन लागेको आशा व्यक्त गरे।

भने,'शिरमा नेता नै नेता भए। त्यसैले यसलाई सफा गरेर जानुपर्ने हो कि? म कांग्रेसको क्रियाशील सदस्य नरहे पनि मैले खोजेको जिम्मेवारी भएको व्यक्ति अहिले परेको छ।'

असोज २२ गते देउवाले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका थिए। उनी रक्षामन्त्रीको जिम्मेवारीमा ७० दिनमै राजीनामा गरेर बाहिरिएका छन्। रक्षामन्त्री हुने रुचि आफूले २०६२/६३ सालको आन्दोलनपछि भए पनि देउवा सरकारको पालामा मात्रै पूरा भएको उनको भनाई छ। उनले अहिलेको कांग्रेसको नेतृत्वमा युवा र अनुभवी गरेर मिश्रित खालको बन्नु सकारात्मक भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell