PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गगन र विश्वप्रकाश जिताउन देउवा टिममै घात, प्रकाशशरणलाई हराउन ‘टाउको’लाई मात्रै भोट माग्ने को-को?



नेत्र तामाङ

गगन र विश्वप्रकाश जिताउन देउवा टिममै घात, प्रकाशशरणलाई हराउन ‘टाउको’लाई मात्रै भोट माग्ने को-को?

काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा दोहोरिए। उपसभापतिमा देउवाको प्यानलबाट पूर्णबहादुर खड्का विजयी हुँदा महामन्त्रीमा भने निल भए।

महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन्। गगन शेखर कोइराला प्यानलका उम्मेद्वार हुन्। विश्वप्रकाश प्रकाशमान सिंह प्यानलका।

देउवा प्यानलबाट उम्मेद्वार बनेका प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका छन्। योसँगै देउवालाई आगामी दिनमा पार्टीमा देउवालाई सहज छैन भन्ने देखाउँछ। यद्यपि उम्मेद्ववारी मनोनयन अघिसम्म शर्मा पनि देउवा निकट नै थिए।

देउवाले पाएको भन्दा ७०० मत कम

पहिलो चरणको चुनावमा देउवाले २२५८ मत पाएका थिए। उपसभापति र महामन्त्रीको मतगणनामा उनको प्यानलमा त्यो मत खसेन। उपसभापतिमा पूर्णबहादुर खड्काले २१२१ मत पाएर निर्वाचित भए। विजयकुमार गच्छदारले तीन मत बढी ल्याउन नसक्दा शेखर प्यानलका धनराज गुरुङसँग पराजित भए। गच्छदारले १९०६ मत प्राप्त गरे।

देउवा प्यानलबाट महामन्त्रीमा एकलौटी उम्मेद्वारी पाएका डा महतमा आउँदा प्यानलको मत निकै ओरालो लागेको देखिन्छ। महामन्त्रीमा प्रकाशशरणले जम्म १५५६ मत पाए जब कि देउवाले पहिलो राउन्डमा २२५८ मत पाएका थिए। प्यानलको झन्डै ७०० मत नपाउँदा प्रकाशशरणले लज्जास्पद हार सहनुपर्योह। महामन्त्रीको दौडमा तेस्रो बन्दै गर्दा दोस्रो भएका विश्वप्रकाशले १९८४ मत पाए।

पहिलो चरणको सभापतिको मतगणनापछि देउवा समर्थक नेताहरुको दाबी थियो -सभापतिको मतान्तर हेर्दा देउवाको प्यानलै आउँछ।

प्रकाशशरण आफैँ पनि ढुक्क थिए जित्नेमा। किनभने पार्टीमा अनुभवी नेताका रुपमा प्रस्तुत थिए महत। कुनै बेला नेविसंघको महामन्त्री बनेका महतले देउवा टिममा रहेर लामो समय काम गरे। देउवाका बफादार बने। ११औँ महाधिवेशनबाट लगातार तीन पटक केन्द्रीय सदस्य बनेका उनी १३औँ महाधिवेशनमा सहमहामन्त्री बन्ने मौका पाए। सहमहामन्त्रीमा मनोनीत बन्नुअघि पनि प्रकाशशरण पटक(पटक देउवाको क्याबिनेटमा परे। परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र राष्ट्रिय योजना आयोगमा समेत काम गरेका महत देउवाका विश्वासपात्र हुन्। देउवाको नीति अनुसार अघि बढेका प्रकाशशरण पछिल्लो समय गुटमा पनि हाबी भए। उनी देउवालाई परराष्ट्र तथा राजनीतिक मुभमा सुझाव सल्लाह दिन्थे। देशभर संस्थापन इतर कमजोर बन्दै गर्दा आफ्नो पक्षमा माहोल बनेको दाबी महतको थियो। तर नतिजा सोचे अनुरुप आएन।

हारपछि महतले फेसबुकमा लेखेका छन्, ‘परिणाम मैले अपेक्षा गरे अनुरुप आएन।’

उनले मतदातालाई धन्यवाद दिँदै कति पनि विचलित नभइ पार्टीमा काम गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

‘मलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आगामी दिनहरुमा पनि विचलित नभइ पार्टी, देश र जनताको पक्षमा काम गरिरहने छु,’ महतले भनेका छन्।

किन कम मत पाए महतले?

बिहीबार महामन्त्रीको मत गन्ने समय हुनै लाग्दा सानेपामा पुगेका थिए महत। केही समय बिताएर उनी मतगणना सुरु नहुँदै त्यहाँबाट फर्किए। दिउँसो मतगणना थालिएपछि लगातार उनी तेस्रो बन्ने क्रम जारी रह्यो। अन्तिम नतिजा पनि त्यस्तै आयो।

महतले किन कम मत पाए त? अहिले यसको जवाफ खोज्न थालेका छन् कांग्रेस कार्यकर्ता। देउवाका प्रिय बन्दा पनि महतले पराजय ब्यहोरेको तथ्य पनि केलाउन थालिएको छ।

कतिपयको दाबी छ देउवाले आफूमात्र जित्ने खेल खेलेका कारण प्रकाशशरण हारे। देउवाले आफू पार्टी सभापतिमा पुनः विजय बन्नका लागि ‘थर्ड पोल’का रुपमा हेरिएका कृष्णप्रसाद सिटौलासँग सम्झौता गरेका थिए। जसअनुरुप सिटौला प्यानलबाट प्रदीपले महामन्त्री र खानेपानी तथा सरसफाइ मन्त्री रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीको टिकट पाए। चौधरीको मतपरिणाम सार्वजनिक भइसकेको छैन। प्रदीपले भने १३९३ मत पाएर चौथोमा चित्त बुझाए।

आफ्नो टिमका हेभिवेट उम्मेद्वारलाई पाखा लगाएकोले प्रदीपको हार पक्कापक्कीका रुपमा हेरिएको थियो। तर प्रकाशशरणलाई भने जित्ने उम्मेद्वारको सूचीमा राखेका थिए देउवाले। प्रकाशशरणको हारलाई देउवाले पनि नमिठो रुपमा हेरिएको बताइएको छ।

महतलाई हराउन नेता सक्रिय

महतलाई हराउन पूर्वदेखि पश्चिमका नेताहरु लागिपरेको उनी निकट नेताको दाबी छ। प्रकाशशरण महामन्त्रीमा अघि बढेपछि सोही पदमा आकांक्षा राखेका नेताहरुको असहयोग रहँदा आफ्नै गुटको मत गुमाएको ती नेताले बताए।

‘प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्कीको सहयोग रहेन। २ बाट विमलेन्द्र निधिले सघाएनन्। वाग्मतीमा महालक्ष्मी उपाध्याय (डिना) को सहयोग रहेन,’ नाम नखुलाउने शर्तमा ती नेताले भने,  ‘लुम्बिनीबाट बालकृष्ण खाण, कर्णालीबाट पूर्णबहादुर खड्का र सुदूरपश्चिमबाट एनपी साउदले घात गरेको देखियो।’

ती नेताले आरोप लगाएका नेताहरु कार्की, खाण र साउद महामन्त्रीका आकांक्षी थिए। तीनै नेता महतविरुद्ध लाग्दा महतको नतिजा नमिठो आएको ती नेताको दाबी रह्यो। देउवाले प्रकाशशरणलाई चाहे पनि देउवाकै परिवारसमेत महतविरुद्ध लागेको बताइन्छ।

महतविरुद्ध लागेका नेताहरुले प्यानललाई मत माग्ने क्रममा टाउको अर्थात् सभापतिमात्र जिताउन र बाँकीमा ‘फ्लेक्जिबल’ बन्न आग्रह गरेको महत निकट नेताको दाबी छ।

पूर्वदेखि पश्चिमका नेताहरु यसरी लाग्नुको एउटै कारण १५औँ महाधिवेशनमा प्रकाशशरण सभापतिका रुपमा अघि बढ्छन् भन्ने डरले भएको ती नेताको दाबी रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell