PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जब विद्यार्थीले शिक्षामन्त्रीलाई साग र गोलभेँडा उपहार दिए...



पहिलोपोस्ट

जब विद्यार्थीले शिक्षामन्त्रीलाई साग र गोलभेँडा उपहार दिए...

  • रमेश लम्साल/रासस-

काठमाडौंः हरियो र देख्दै खाउँ-खाउँ लाग्ने साग। बोटमा लटरम्म फलेका गोलभेँडा। स्याउ, आरु, अलैँचीका बोट पनि। त्यस्तै अन्य उपज पनि। तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा कृषि फार्मको तस्विर आउन सक्छ।

मीनपचासको चिसा रातमा परेको तुसारो बोटमा सेताम्मे थियो। केही खेत खनिएका थिए। लाग्थो, त्यहाँ नयाँ बाली लगाइँदैछ। विभिन्न प्रजातिका बिरुवा लगाउन केही ‘ड्याङ’ खनेर राखिएको छ। यो कुनै व्यक्तिले सञ्चालन गरेको कृषि फार्म नभई सार्वजनिक विद्यालयले गरेको कर्म हो।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रूपमा खटिएको छ बूढानिलकण्ठ माध्यमिक विद्यालय। सोही विद्यालयको प्रयोगात्मक कक्षाका लागि तयार पारिएको कृषि फार्मको तस्विर हो यो।

कक्षा पाँचदेखि १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा एक हजार १३५ विद्यार्थी अध्ययनरत छन्। उनीहरु पनि नियमित पढाइसँगै विद्यालयको करेसाबारीमा काम गर्छन्।

सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थलगत निरीक्षण गरी प्रशंसा मात्रै गरेनन्, यस्तो अभियानबाट अरु विद्यालयले पनि सिक्नुपर्नेमा जोड दिए।

विद्यार्थी र शिक्षकका लागि आवासको व्यवस्था भएको विद्यालयमा सूचना प्रविधि (आइटी), विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मक कक्षासहितको अध्यापन गरिन्छ। ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ।

देशकै उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले डा. महावीर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत् रोबोट बनाउने काममा अनुसन्धान गरिरहेको छ। बिहीबार बिहान सोही विद्यालयको निरीक्षण गर्न पुगेका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए। 'विद्यालयको शैक्षिक गतिविधि राम्रो छ,' उनले भने, 'उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस्।'

मन्त्री पौडेलले विद्यार्थीको पढाइको विषयमा समेत जिज्ञासा राखे।

'बूढानिलकण्ठका विद्यार्थीले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको छ त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ,' उनले भने।

जमिनको अभाव भएको बताउँदै भएकोलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणका रूपमा देखाउन मन्त्रीले आग्रह गरे।

विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए।

'हामीले शिक्षाका अतिरिक्त पढ्दै सिक्दै कार्यक्रम पनि अगाडि बढाएकाले थप प्रभावकारी नतिजा आएको छ', आचार्यले भने।

'विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन', प्रध्यानध्यापक आचार्य भने, 'तरकारी खेतीबाट पहिलो सिजनमा रु १५ लाख आम्दानी गर्न सफल भयौँ।’

उनका अनुसार विद्यालयले स्थानीय जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्तालाई पनि स्थलगत अवलोकन गर्न पाउने गरी व्यवस्थापन गरिएको छ। 

'विद्यार्थीलाई विरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौँ अनि विरुवा दिएर घर पठाउँछौँ', आचार्यले भने।

निरीक्षणमा पुगेका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान प्रयोगशाला बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए। विद्यालयमा उत्पादन भएको साग तथा गोलभेँडा शिक्षामन्त्रीलाई विद्यार्थीले कोसेलीका रूपमा दिएका थिए। विद्यालय र विद्यार्थीले नियमित शैक्षिक गतिविधिसँगै व्यावहारिक शिक्षासमेत पाएको भन्दै अन्य विद्यालयले समेत अनुसरण गर्नुपर्ने देखिन्छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पढ्दै, सिक्दै र कमाउँदै कामर्यक्रम समावेश गरेको छ। सो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरी योग्य नागरिक बनाउने सरकारको बुझाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell