PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'सधैँको डाइलग हो: सबै टिम राम्रो छ'



मुकुन्द घिमिरे

'सधैँको डाइलग हो: सबै टिम राम्रो छ'
ए डिभिजन लिगमा एनआरटी र मछिन्द्र क्लब (सेतो जर्सी)का खेलाडी प्रतिस्पर्धा गर्दै। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगका चौधवटै टिमका प्रशिक्षकहरुले यसपाला पटकपटक दोहोर्‍याइ रहेको कुरा हो: टिमहरु स्तर। सबै टिमहरुको स्तर बढेर लगभग एउटै अवस्थामा रहेकाले विगतमा भन्दा खेल प्रतिस्पर्धात्मक बन्दै गएको प्रशिक्षकहरु बताउँछन्। र, नतिजाले पनि त्यही देखाइरहेको छ। त्यसमा पनि अघिल्लो सिजन रंगशालामा दर्शक भित्र्याउनकै लागि 'अफर' हरु ल्याउन बाध्य बनेको एन्फा यसपटक फर्ड लाइटमा खेल खेलाइरहेको छ। र, दर्शकको उपस्थिति पनि विगतमा भन्दा धेरै देखिन्छ।

ए डिभिजन लिगको पाँचौ चरणअघिको पत्रकार सम्मेलनमा अगाडिको रणनीतिबारे चर्चा गर्न आइपुगेका न्युरोड टीम (एनआरटी)का राजुकाजी शाक्यले शुरुमै भने: 'सँधैको डाइलग हो: सबै टिम राम्रो छ'। यो भनाइ शाक्यले मात्र होइन सबै प्रशिक्षकहरुले भन्दै आएको 'डाइलग' हो। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि पाँचौ चरण अघि भने:यो लिगमा सबै टीमलाई त्यतिनै बलियो देखिरहेका छौं।

लिगका चारवटा चरणसकिँदा शीर्षस्थानको होड पनि त्यतिकै रोचक छ। ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो देखि साविकविजेता मछिन्द्रसम्म तथा सदाबहार दाबेदार मनाङसम्म तीब्र प्रतिस्पर्धामा छन्। कुन चरण सकिँदा कुन टिम शीर्षस्थानमा रहन्छ भनेर यसै भन्न सकिने अवस्था छैन। क्लबहरुबीचको अंकदुरी कम छ।

त्यस्तै रेलिगेशन जोनमा पनि राम्रो खेल पस्किएको जावलाखेल युथ क्लब र एपीएफ संघर्ष गरिरहेका छन्। जावलाखेल र एपीएफले पनि चौथो चरणमा आएर पहिलो अंक जोड्न सफल भए। र, शुक्रवारबाट पाँचौ चरणका खेलहरु शुरु हुँदैछन्।

अंकतालिकामा को अघि? को पछिपछि?

लिग तालिकामा प्रतिस्पर्धा उच्च छ। समान ४ खेलबाट ३ जित र १ बराबरी निकालेका मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब समान १० अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै तेस्रो र चौथो स्थानमा रहेका त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबको समान ८ अंक छ। दुबै टोलीले ४ खेलबाट दुई जित र दुई हार ब्यहोर्दै ८ अंक जोडेका हुन्। त्यस्तै ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लबले ७ अंक जोडेर पाँचौ स्थानमा छ।

चौथो चरणको समाप्तीमा अंकतालिका


चारवटा टोली समान पाँच अंक जोडेर छैठौं देखि नवौं स्थान सम्म छन्। सबै टोलीले ४ खेलमा एक जित २ बराबरी र १ हार ब्यहोर्दै ५ अंक जोडेका छन्। जसमा क्रमश थ्री स्टार क्लब, ब्रिगेड ब्वाइज क्लब, नेपाल पुलिस क्लब र न्युरोड टिम रहेका छन्। त्यस्तै ४ अंक जोडेको च्यासल ४ अंक जोडेर चौथो स्थानमा रहँदा समान २ अंक जोडेका फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब क्रमश ११ औं र १२ औं स्थानमा छ। रेलिगेशन जोनमा समान १ अंक जोडेका जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब छन्।

एएफसी कपको दवाब

लिगको सातौं चरणको समाप्तीमा शीर्षस्थानमा रहने टोली एएफसी कपको छनोटमा छनोट हुने एन्फाले जनाएको छ। यसमा महत्वपूर्ण विषय हुन आउँछ एएफसी लाईसेन्स। नेपालमा एएफसी लाइसेन्स भएका चारवटा टोलीमात्र छन्: मनाङ मर्स्याङदी क्लब, मछिन्द्र क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ एफसी। यी मध्ये सातौचरण सकिँदा शीर्षस्थानमा रहने टोली एएफसी कपमा प्रतिनिधित्व गर्नेछ।

गोलपछि सेलिब्रेसन गर्दै मछिन्द्र क्लबका खेलाडी। फाइल फोटो


पाँचौ चरण अघिको अंकतालिका हेर्दा मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लबले लिग लिड गरिरहेका छन्। दुबै टोलीको समान १० अंक छ। तर, छैठौं चरणमा यी दुई टोली दशरथ रंगशालामा आमनेसामने हुँदैछन्। अर्कोतर्फ तेस्रो प्रतिस्पर्धी हो आर्मी। आर्मी ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ। अगाडिका दुबै चरणका खेल जितेको खण्डमा पनि समीकरणमै निर्भर हुनुपर्ने अवस्थामा छ। त्यस्तै अर्को विभागीय टोली एपीएफ अंकतालिकाको पुछारमा रेलिगेशनबाट बच्नका लागि संघर्ष गरिरहेको छ। यसअर्थमा मनाङ र मछिन्द्र एएफसी छनोटका लागि सबैभन्दा दाबेदार देखिएका छन्।

अघिल्लो सिजन लिग विजेता मछिन्द्र क्लबसँग एएफसी लाइसेन्स नहुँदा आर्मीले एएफसी कप छनोट खेलेको थियो।

खेलस्थल परिवर्तन

ए डिभिजन लिग यो सिजनबाट पहिलो पटक उपत्यका बाहिर जाँदैछ। हीद स्मारक ‘ए’ डिभिजन लिगका तीन खेल यसवर्ष पोखरा रंगशालामा हुँदैछन्। सार्वजनिक तालिका अनुसार ३, १७ र २४ पुसमा पोखरामा पहिलोपटक ‘ए’ डिभिजन लिगको खेल हुन लागेको हो।

पहिलोपटक पोखरामा भित्रिएको ‘ए’ डिभिजन लिगमा टिम मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा आफ्ना प्रतिस्पर्धीसँग भिड्दै छ। जसको तयारी अन्तिम चरणमा पुगेको छ।

पोखरामा हुने तीन खेलमध्ये पहिलो खेल ३ पुसमा हुँदैछ। पहिलो खेलमा मनाङ नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दैछ।यस्तै, १७ पुसमा मनाङसँग ब्रिगेड ब्वाइजले प्रतिस्पर्धा गर्दैछ। २४ गते हुने खेलमा च्यासल युथ क्लब र मनाङ भिड्दै छन्।

यसबाहेक एन्फाले च्यासल मैदान र एन्फा कम्प्लेक्सको मैदानलाई पनि प्रयोग गर्ने जनाए पनि चौथो चरण सकिँदासम्म दशरथ रंगशालामात्र प्रयोग गरेको छ।

विभागीय टोलीमा विदेशी खेलाडी

ए डिभिजन लिगमा विदेशी खेलाडी सबै क्लबहरुले भित्र्याइ रहँदा तीन विभागीय टोली एपीएफ, नेपाल पुलिस र आर्मीले हालसम्म भित्र्याएका छैनन्। तर, यो नीतिका कारण टिमको प्रदर्शनमा प्रभाव परेको भन्दै पुलिस र एपीएफका प्रशिक्षकहरुले सार्वजनिक रुपमा बताउँदै आएका थिए। लिगमा राम्रो प्रदर्शन गर्न नसकेको विभागीय टोली एपीएफले पहिलोपटक विदेशी खेलाडी भित्र्याउने तयारी गरेको छ।

थ्री स्टार (निलो जर्सी) सँग प्रतिस्पर्धाा गर्दै एपीएफका खेलाडी। फाइल फोटो


एपीएफका सहायक प्रशिक्षक रत्नकाजी श्रेष्ठले एपीएफले विदेशी खेलाडी भित्र्याउने तयारी गरेको बताए। दुई जना अफ्रिकन र एकजना एसियन खेलाडी भित्र्याउने तयारी चलेको बताए।

'क्लब सकारात्मक छौं। अर्को म्याचमा ल्याउन पनि सक्छौं। पेपरवर्क चलिहरेको छ।' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell