PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भारत निकासी रोकिएपछि खाने तेलको भाउ घट्यो, मूल्य कार्टुनमै डेढ सय रुपैयाँसम्म गिरावट



सरला सुवेदी

भारत निकासी रोकिएपछि खाने तेलको भाउ घट्यो, मूल्य कार्टुनमै डेढ सय रुपैयाँसम्म गिरावट

काठमाडौं: केही समयअघि महंगो भएको खाने तेलको मूल्य फेरि घट्न थालेको छ। भारततर्फ तेलको निर्यात कम हुन थालेपछि स्थानीय बजारमा सुर्यमुखी र भटमासको तेलको मूल्य घट्न थालेको व्यवसायीहरुले बताएका छन्।

हाल सूर्यमुखी तेल र भटमासको तेल कार्टुनमै एक सय ५० रुपैयाँसम्म घटेको नेपाल खुद्रा किराना व्यापार संघले जनाएको छ।

लामो समयदेखि खाने तेलको मूल्य बढ्ने क्रममा थियो। अहिले भारततर्फ निर्यात कम भएपछि उद्योगीहरुले मूल्य कम गर्दै बिक्री गर्न थालेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए। 'हाल बजारमा तेलको मूल्य लिटरमा १० रुपैयाँ घटेको छ। अवस्था हेर्दा मूल्य अझै घट्नु पर्ने हो'उनले भने।

उद्योगले मूल्य बढाउँदा बजारमा चाँडै नयाँ मूल्य लागु गर्छन् भने मूल्य घटाउँदा थोरै मात्र घट्ने प्रवृत्ति छ। यसकारण उपभोक्ताले दैनिक उपभोग्य वस्तु महंगोमा खरिद गर्न बाध्य हुने गरेको महासचिव तुलाधरले बताए।

बजारमा दुई सातादेखी तेलको मूल्य क्रमिक घट्न थालेको किराना व्यवसायी कृष्ण भट्टले बताए। चाडपर्व सकिएपछि तेलको मूल्य कार्टुनमा ५० रुपैयाँ घटेको थियो। त्यसलगतै मूल्य क्रमिक घट्दै कार्टुनमा एक सय ५० रुपैयाँसम्म ओरालो लागेको छ। यति बेला तेलको मूल्य कार्टुनमा एक सय रुपैयाँभन्दा बढी घटेको उनले बताए।

सुर्यमुखीको तेल प्रतिकार्टुन २३ सय ७० रुपैयाँ छ भने भटमासको तेल प्रतिकार्टुन २१ सय ७० रुपैयाँ रहेको छ। तेलको मूल्य कार्टुनमै २ सय रुपैयाँसम्म घट्न सक्ने व्यवसायी भट्टको भनाई छ। मूल्य घट्न थालेपछि बजारमा सुर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ३५ रुपैयाँ र भटमास २ सय २० रुपैयाँमा बिक्री भइरहेको छ।

केही अघिमात्र खाने तेलको मूल्य बढ्दै प्रतिकार्टुन २५ सय र भटमास प्रतिकार्टुन २३ सय रुपैयाँसम्म पुगेको थियो। तेलको खुद्रा मूल्य सुर्यमुखी तेल लिटरमा २ सय ८० रुपैयाँ पुगेको थियो। भटमासको तेल प्रतिलिटर २सय ५५ रुपैयाँ भएको थियो।

के कारण घट्यो तेलको मूल्य?

विश्व बजारमा तेलको मूल्य घटबढ नभए पनि एक महिनादेखि स्थानीय बजारमा घट्न थालेको छ। पछिल्लो समय भारततर्फ निर्यात रोकिएपछि व्यवसायीहरुले मौज्दात घटाउनका लागि कम मूल्यमा तेल बिक्री गर्न थालेको एक तेल उद्योगीले बताए।

नेपाली उद्योगीहरुले आधिकारिक रुपमा मूल्य नघटाए पनि बजारमा क्रमिक मूल्य घट्न थालेको तेल उद्योगी रहिसा टिवडेवालाले बताइन्। तेलको निर्यात रोकिएपछि उत्पादन ओभरफ्लो भएको छ। यस अघि निर्यात हुँदै आएको तेल सबै स्टक बस्न थालेको छ। केही समयदेखि ६ महिनालाई पुग्ने कच्चा पदार्थ नाकामै रोकिएको उनले बताइन्।

पहिले प्रशोधित तेल बजारबाट ६० दिनमा रिकभर हुने गरेको थियो। अहिले त्यो पनि नहुँदा यसको प्रभाव मूल्यमा परेको हो। हाल बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेपछि कुन तेलको मूल्य कति भन्ने समेत स्पष्ट थाहा हुन नसकेको उनले दावी गरिन्। तेल उत्पादक संघले तोकेको भन्दा कम मूल्यमा बजारमा तेल बिक्री हुन थालेको उनको भनाई छ।

पुस मसान्त नजिकिएकोले व्यवसायीहरुले सस्तो मूल्यमा तेल बिक्री गरी नगद संकलन गर्न थालेपछि बजारमा मूल्य घटेको उनले बताइन्। 'पुस मसान्तको लागि नगद संकलन गर्न भित्रभित्रै मूल्य घटाएर बिक्री भइरहेको छ,'उनले भनिन्, 'यसैकारण तेलको मूल्यमा बजारमा एकरुपता छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell