PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

अदालतमा इच्छाराज तामाङः सरकारी वकिलको बहस सकियो, प्रतिवादीका तर्फबाट बहस गर्ने १२ जना वकिलको नाम



पहिलोपोस्ट

अदालतमा इच्छाराज तामाङः सरकारी वकिलको बहस सकियो, प्रतिवादीका तर्फबाट बहस गर्ने १२ जना वकिलको नाम

काठमाडौंः बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ लगायतको मुद्दामा सरकारी वकिलहरूको बहस सकिएको छ। जिल्ला अदालत काठमाडौंमा प्रतिवादीको बयान सकिएपछि सरकारी वकिलहरूले बहसको पालो पाएका हुन्।

अहिले जाहेरीवालाका तर्फबाट बहस भइरहेको छ। पाँच जना वकिलमध्ये दुईको वकालत सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले बताए।

'एक साताभन्दा बढी प्रतिवादीको बयान र मिसिल नै अध्ययन भयो। अहिले सरकारी वकिलहरूले वकालत सकिएर जाहेरीवालाको वकिलले वकालत गरिरहनु भएको छ,' सूचना अधिकारी दाहालले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि अदालतबाट तामाङ लगायत अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश हुनेछ।

पक्राउ पर्नेहरूमा सहकारीका कर्मचारी समेत रहेका छन्। प्रहरीले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कस्तुप चेतन ढुंगाना, भगवानबहादुर सिंह, संगीत श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहरप्रसाद लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिवादीकातर्फबाट १२ जना वकिलले वकालत गर्न नाम दर्ता गराइसकेका छन्। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा छ।

अदालतमा दर्ता भएको अभियोगपत्रमा तामाङविरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ। त्यस्तै संगठित अपराध गरेको पुष्टि भएमा ५० प्रतिशत थप कैद र जरिवाना हुनेछ। त्यस्तै सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत माग गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। जसमा १२ जना पक्राउ छन्। अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। तामाङ सञ्चालक रहेको सिभिल सहकारीबाट करौडौं रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ।

तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell