
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताएका हुन्।
'नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ। नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ। देशलाई सबै खालका असहमानताहरुबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ' उनले भने।
उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको समेत बताए। देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै उनले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए।
नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। उनले पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको समेत बताए।
‘कृषि क्षेत्रमा लाग्ने कुराले इज्जत घट्ने होइन, बढ्छ। यसले कृषि उद्योगको रुपमा अघि बढाउँछ। यी सबै उत्पादनलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा राज्यले दिनुपर्ने ध्यानुपर्छ' उनले भने।
केही दिन अघि माधवकुमार नेपालले देशमा धेरै समस्या भएपछि गठबन्धनका कारण त्यसबारेमा बोल्न नसकेको बताएका थिए।