PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राजा र प्रचण्ड बिच भएको सहमति झुटो होइन : शंकर पोखरेल



पहिलोपोस्ट

राजा र प्रचण्ड बिच भएको सहमति झुटो होइन : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र बिच सहमति भएको कुरा झुटो नभएको बताएका छन्।

एमालेको १० औं महाधिवेशनबाट महासचिव बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ओलीको अभिव्यक्ति सही भएको बताएका हुन्।

केहीदिन अघि ओलीले प्रचण्ड र राजा बिच पाँच बुँदे सहमति भएको दाबी गरेका थिए। ओलीको अभिव्यक्तिलाई प्रचण्डले प्रतिवाद गर्दै पुष्टि गर्न चुनौती समेत दिइसकेका छन्।

यसैबिच, महासचिव पोखरेलले आज फेरि प्रचण्ड र राजा बिच सम्झौता भएको दावी गरेका हुन्।

'माघ १९ को घटनापछि माओवादीको आधिकारीक वक्तव्यले प्रष्ट पारेको छ - पछाडि फर्कँन चाहन्छौं। प्रचण्ड र राजाबारे भएको ५ बुँदे सहमति भएको झुटो होइन,' उनले भने।

पोखरेलले एमसीसीबारे पहिला सरकारको धारणा आउनुपर्ने समेत बताए। त्यसपछि मात्रै एमालेले आफ्नो कुरा राख्ने उनले बताए। साथै, उनले एमालेले कारवाही गरेका सांसदहरु संसदमा उपस्थित भएसम्म सदन चल्न नदिने बताए।

'हामीले कारवाही गरेको संसद राखेर बैठक चलाउनेमा हाम्रो सहमति छैन। सभामुखले राजीनामा या माफी मागेमात्र अघि बढ्छ संसद। एमालेको प्राथमिकता संसदको अन्योल हटाउने हो। अवरोध हटाउने काम भयो भने मात्र विजनेशमा प्रवेश गर्छौ,' पोखरेले भने।

पोखरेलले एमालेभित्र कुनै गुनासो छैन नभएको भन्दै भएका गुनासोको पनि सम्बोधन भइसकेको दाबी गरे। पछिल्लो पटक एमालेभित्र ओली समूहमै रहेकाहरु असन्तुष्ट बनेको बताइएको छ। माओवादी केन्द्रबाट आएका र १० बुँदेबाट आएकालाई कार्य विभाजनमा विभेद नगरेको समेत उनले बताए।

'एक सय एक कार्यकर्ता हुँदा कहाँ जिम्मेवारी पायो भन्नेले अर्थ हुँदैन। एमालेमा विशाल पंक्ति भएकाले यसरी कार्य विभाजन भयो,' उनले भने।

१० औं महाधिवेशनमा अध्यक्षमा पराजित भीम रावलले नीतिगत निर्णयका आधारमा केन्द्रीय सल्लाहकार परिषदको सदस्य बताउँदै भने, 'त्यो भन्दा थप जिम्मेवारीका लागि अध्यक्ष कमरेडसँग रावलले छलफल गर्न सक्नुहुन्छ।'

कांग्रेस महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बनेसँगै पुस्तान्तरणको विषय उठेको छ। पोखरेलले भने ८ औं महाधिवेशनबाटै एमालेमा पुस्तान्तरणको सुरुवात भएको र त्यसलाई अरु पार्टीले पछ्याएको दाबी गरे।

'नवौं महाधिवेशनमा दस्तावेजमा विवाद थिएन। सर्वसम्मत रुपमा पारित भएको थियो। आठौं महाधिवेशनबाट एमालेमा पुस्तान्तरण भयो। अरु पार्टीले त्यसलाई फलो गरे,' उनले भने।

पोखरेलले विचार मिल्नेसँग राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य हुनसक्ने समेत बताए। सत्तारुढ गठबन्धन प्रतिक्रान्तितर्फ उन्मुख भएको भन्दै उनले निर्वाचनबाट फेरि जनादेश पाउनु नै आफूहरुको प्राथमिकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell