PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

आर्मीको अर्को बराबरी खेल : टिमले जति खेल्नुपर्ने हो त्यति खेल्न सकेन



पहिलोपोस्ट

आर्मीको अर्को बराबरी खेल : टिमले जति खेल्नुपर्ने हो त्यति खेल्न सकेन

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्ल्ब र सातदोबाटो १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको ११ औं मिनेटमा टेकबहादुर बुढाथोकीको क्रसमा जर्जप्रिन्स कार्कीले फ्लिप गरेको बललाई दिनेश हेम्जनले गोल गरेका थिए। यद्यपि, आर्मीको अग्रता धेरैबेर भने टिक्न सकेन। खेलको १६ औं मिनेटमा मार्टिन्स कयोडी अजयीले काउन्टरमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै गोल गरे।

२१ औं मिनेट हेम्जनले पोस्ट एक्रोब्याटिक प्रहार गरे। उनको प्रहार सजिलै सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेका थिए। दोस्रो हाफमा खेल थप प्रतिस्पर्धात्मक बने पनि गोल हुन सकेन।

सन्तोष तामाङले ७० औं मिनेटमा पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट गरेको प्रहार गोल पोष्टमाथिबाट बाहिरिएको थियो।

योसँगै ५ खेलबाट ९ अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लने अवसरबाट चुकेको छ। र, एएफसी कपको छनोटका लागि पनि कमजोर हुने भएको छ। जारी लिगमा आर्मीले दुई जित र तीन बराबरी खेलेको छ। त्यस्तै सातदोबाटोले ८ अंक जोड्दै चौथो स्थानको संकटा क्लबसँग अंक बराबरी गरेको छ।

आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।

जति खेल्नुपर्ने हो त्यति खेल्न सकेनौं

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले प्वाइन्ट लिनुपर्ने अवस्था भएकोले टिमले राम्रो प्रदर्शन गर्न नसकेको बताए।

'प्वाइन्ट लिनुपर्ने अवस्था थियो। सकेनौं। त्यही प्रेसरमा गोल निकाल्ने लक्ष्य थियो। टिमले जति खेल्नुपर्ने हो त्यति खेल्न सकेन,' उनले भने, 'सेन्ट्रल मिडफिल्डले गोल निकाल्न सकेन। भरतको कमि देखियो। उनीहरुले धेरै गोल खेले।'

आजको बराबरीले आर्मीलाई एएफसी कपका लागि अन्य टिमको नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ। प्रशिक्षक न्यौपाने अझै समीकरणले सहयोग गर्न सक्नेमा आशावादी सुनिए।

'एएफसी कपका लागि अरु टीमको नतिजामा भरपर्नु पर्ने भयो। उपाधि होडमा पनि अरु टिमको नतिजामा भरपर्नुपर्ने अवस्था रह्यो,' उनले भने,'जसले जसलाई पनि रोक्न सक्छ यो लिगमा। त्यसैले अझ भरोसा छ।'

खेलका क्रममा आक्रामक देखिएका सातदोबाटोका प्रशिक्षक मेघराज केसी खेलपछि भने सन्तुष्ट सुनिए।

'आज धेरै राम्रो गेम थियो। दुबै टिमको। हामी चाहीँ जित्छौं भनेर आएका थियौं। अंक बाँड्न सफल भयो,' केसीले भने,'पछिल्लो एकदुई वर्षमा उनीहरुको फर्मलाई दाँज्दा आज कमजोर थियो। आर्मीको प्रदर्शन कमजोर थियो। आर्मीलाई इन्ज्युरी छ। खेल्नपर्ने खेलाडी पनि इन्जर्ड छन्। खेलिरहेका पनि इन्जर्ड छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell