PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदीपले देउवालाई भने त्यागी नेता, महाधिवेशनमा आफूले चाहेजस्तै भएको दाबी : गगन र विश्वप्रकाशलाई चित्तबुझ्दो जवाफ दिन आग्रह



नेत्र तामाङ

प्रदीपले देउवालाई भने त्यागी नेता, महाधिवेशनमा आफूले चाहेजस्तै भएको दाबी : गगन र विश्वप्रकाशलाई चित्तबुझ्दो जवाफ दिन आग्रह

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई त्यागी नेता भएको बताएका छन्। महामन्त्रीमा पराजित भएका पौडेलले सोमवार लैनचौरस्थित लैनचौर बङ्क्वेटमा मतदातालाई धन्यवाद दिँदै यस्तो भनाई राखेका हुन्।

पुरानो पुस्ताको नेताले आफूलाई टिममा राखेको उल्लेख गर्दै उनले कृष्णप्रसाद सिटौलालाईसमेत धन्यवाद दिए।

'पुरानो पुस्ताको त्यागी नेता देउवाले नयाँ पुस्ताको मलाई आफ्नो टिममा राख्नुभयो यसका लागि धन्यवाद। कृष्णप्रसाद सिटौला जो आफै पनि निर्वाचन लड्न सक्नुहुन्थ्यो उहाँले आफ्नो ठाउँमा मलाई अगाडी सार्नु भयो उहाँलाई पनि मुरीमुरी धन्यवाद,' पौडेलले भने।

यसकारण देउवासँग गठजोड  

सम्बोधनका क्रममा पौडेलले आफू देउवासँग गठजोड गर्न पुग्नुको कारण पनि खुलाए। महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीका उम्मेद्वार बनेका उनले वृहत्तर एकताका लागि आफूले टिम देउवा रोजेको बताए।

'मैले यसकारण शेरबहादुर देउवासँग गठजोड गरे कि पार्टीमा वृहत्तर एकता हुनुपर्छ। पार्टी र सरकार सँगसँगै अघि बढ्नुपर्छ,' पौडेलले भने।

आउँदो चुनावमा कांग्रेसले जित्नका लागि पनि पार्टी एकता आवश्यको भएको उनको भनाई थियो। 'आगामी निर्वाचनमा जित्नका लागि पार्टीमा आम एकता हुनुपर्छ। सबै मिलेर अघि बढ्नुपर्छ,' पौडेलले भने।

उत्तर दिने ठाउँमा पुग्न सकिनँ

महाधिवेशनमा आफू पराजित भएपनि त्यसलाई स्वभाविक रुपमा लिएको उनको भनाई थियो। 'मेरो पराजय भयो। केही साथीहरु जित्नुभएको छ। यो प्रतिस्पर्धालाई मैले स्वभाविक रुपमा लिएको छु,' पौडेलले भने।

आफू प्रश्न उठाएर नेता भएको उल्लेख गर्दै पौडेलले प्रश्नको जवाफ दिने ठाउँमा भने पुग्न नसकेको बताए। 'हामीले धेरै प्रश्न उठायौ। देशको सन्दर्भमा शासकहरुमाथि प्रश्न उठायौ। पार्टीको जिम्मेवार नेताहरु माथि प्रश्न उठायौ। समाजका विभिन्न अनुत्तरित विषयहरुमाथि प्रश्न उठायौ,' उनले थपे, 'म पनि उत्तर दिने ठाउँमा जान चाहन्थे। निरन्तर प्रश्न उठाउँदै गर्दा उत्तर दिने ठाउँमा गएर ति प्रश्नहरुको चित्तबुझ्दो हिसाबमा उत्तर दिन चाहन्थे तर त्यो ठाउँमा पुग्न सकेनौ।'

साथीहरुले चित्तबुझ्दो जवाफ दिनुपर्छ

आफू महामन्त्रीमा नजिते पनि आफ्नै समकक्षी त्यस ठाउँमा पुगेको उनको भनाई थियो। गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएका छन्। निर्वाचित थापा र शर्माप्रति लक्षित गर्दै पौडेलले भने, 'त्यो ठाउँमा प्रश्न उठाउने साथीहरु नै पुग्नुभएको छ। म आग्रह गर्न चाहन्छु। तपाईले दिएको उत्तरले फेरि नयाँ प्रश्न जन्मिने अवस्था नआओस्। त्यस्तो भयो भने फेरि ठुलो निराशा आउन सक्छ।'

क्षमताका आधारमा पार्टीमा अवसर पाउने व्यवस्था गर्नसमेत उनले माग गरे। 'कांग्रेसमात्र हैन आम जनतामा हाम्रो पुस्तामाथि ठुलो विश्वास छ। ठुलो भरोसा छ,' उनले भने, 'पार्टी विधि विधानबाट व्यवस्थित तरिकाले अगाडि हुनुपर्छ। क्षमताका आधारमा पार्टीका साथीहरुले अवसर पाउने अवस्था बनोस्। धेरै परिवर्तन गर्न जरुरी छ।'

हारे पनि बेखुसी छैन

पौडेलले आफू हारे पनि बेखुसी नभएको दाबी गरे। 'मेरा मित्रलाई आग्रह गर्न चाहन्छु। म प्रतिस्पर्धामा गएँ। हारे पनि म बेखुसी छैन। हाम्रो पुस्ताले पार्टीलाई हाँक्न सक्छ भनेर नै मैले महामन्त्रीमा उम्मेद्वारी दिएको हुँ,' उनको भनाई थियो।

त्यसैगरी उनले आफूले जे चाहेको त्यही भएकोसमेत तर्क गरे। 'मैले उपविजेता हुने मौका प्राप्त गरे। तर विजेता साथीहरु पनि मेरै पुस्ताको हुनुहुन्छ। मैले जे खोजेको थिएँ। आज हाम्रो पार्टीमा त्यही भएको छ,' पौडेलले थपे, 'त्यसकारण चुनाव आफैले जित्नुपर्छ भन्ने पक्षमा थियो। धेरै ढाँटेर कुरा गर्नु हुँदैन। नजिते पनि म बेखुसी छैन। म यसकारण बेखुसी छैन कि पार्टीमा मेरो पुस्ता नेतृत्वमा पुगेको छ। मेरो पुस्ता कार्यकारी भूमिकामा पुगेको छ।'

अझ उत्साहित भएको छु

पराजित भए पनि आफू अझै उत्साहित भएको उनको भनाई थियो। 'म निर्वाचनबाट विचलित भएको छैन। म हिजोभन्दा बढी उत्साहित छु। कैयौं निर्वाचन जितियो हारियो,' पौडेलले भने। उनले आफूलाई काम दिन आग्रहसमेत गरे। भने, 'मलाई कज्याउनुस्। खटाउनुस्। तपाईलाई सहयोग गर्न चाहन्छु। सुखदुखमा तपाईसँगै काम गर्न चाहन्छु।'

पार्टीमा आफू दिलोज्यान दिएर काम गर्नसमेत तयार रहेको समेत उनले बताए। 'कांग्रेसका नेता कार्याकर्तालाई उत्साहित पार्ने कार्यक्रम नेतृत्वले ल्याए म दिलोज्यान दिएर सहयोग गर्ने प्रतिबद्धता गर्नेछु,' उनले भने।

सबै मतदातालाई धन्यवाद दिँदै आफू अब निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन लाग्ने उद्घोष पौडेलले गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell