PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मदिराले मातेर भन्सारका कर्मचारी पिट्ने पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित



पहिलोपोस्ट

मदिराले मातेर भन्सारका कर्मचारी पिट्ने पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

काठमाडौंः मदिराले मातेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नासु पिट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी निलम्बित भएका छन्।

शुक्रबार पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले चन्द्र रिजालको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो। रिजाल बोर्डका वरिष्ठ उपाध्यक्ष हुन्।

सचिव न्यौपानेले छानबिन समिति बनाइएको जानकारी दिँदै छानविन प्रतिवेदन नआउन्जेलका लागि रेग्मीलाई पदीय दायित्वबाट मुक्त गरिएको बताए।

बोर्डको काम कारबाही नियमित गर्न वरिष्ठ निर्देशक नन्दिनी थापालाई निमित प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

स्रोतका अनुसार रेग्मीविरुद्ध नैतिक आचरण, पदीय दूर्ब्यबहार र आर्थिक अनियमितता गरेको बोर्डमा उजुरी परेको छ। यही आधारमा समिति गठन गरिएको हो। तिहारको भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका उनले ६ बोतल मदिरा ल्याएको देखेपछि भन्सारका नासु सुमन थापाले रोक्न खोजेका थिए। उनले रोक्न नपाउँदै रेग्मीले 'म को हो चिनेको छस्? म देश चलाउने मान्छे हुँ' भन्दै थप्पड हानेका थिए।

रेग्मीले थप्पड हानेको सिसिटिभी फुटेज समेत सार्वजनिक भइसकेको छ। यो विषय बाहिरिएपछि पर्यटन सचिव यादव कोइरालाले नै लिखित स्पष्टीकरण सोधेका थिए। उनी रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिँदै थिए।

उनलाई भन्सारबाट सोझै काठमाडौं मेडिकल कलेज लगिएको थियो। त्यहाँ उनको मापसे परीक्षण गरिएको थियो। मापसे परीक्षणमा रेग्मीले मदिरा पिएको पुष्टि भएको थियो।

त्यसपछि रेग्मीलाई दूर्व्यवहार गरेकोले पाँच हजार जरिवाना गरिएको थियो। यो अधिकतम जरिवाना हो। रेग्मीका नाममा काटिएको जरिवानाको रसिद भन्सार कार्यालयमा सुरक्षित राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell