PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बुढोको रातो रेशमी थैलो र रमाइलो गर्ने दोकान



पहिलोपोस्ट

बुढोको रातो रेशमी थैलो र रमाइलो गर्ने दोकान

  • रोशन पोखरेल-

बुढोले अँगालोबाट चन्द्रभानलाई एकै झड्कामा हुत्यायो। चन्द्रभान उछिट्टिएर भाडा दोकान बाहिर सजाएको ठुलो गाग्रीमा ठोक्कियो। सँगै केही भाडाहरु टाङटाङ टुङटुङ गर्दै उछिट्टिए। दोकानको कामदार दौडेर बाहिर आयो। फेरि रमिता हुने भयो भनेर मान्छे भिड लागे।

चन्द्रभानले आफुलाई लड्नबाट जोगाउँदै भन्यो – त्यो ढोके... त्यो जहाजको ढोके....

उसको सास फुलिरहेको थियो। आँखा रसिला तर तिखा देखिए।

बुढो उसको छेउमा आउँदै भन्यो – अँ त्यो ढोके..अनि के त ?

चन्द्रभानले उसले देखेको कुरा सबै बेलिविस्तार लगायो। बुढोले उसका कुरा ध्यानपूर्वक सुन्यो। अन्त्यमा चन्द्रभानका आँखाहरुतिर केही खोजेझैं नियालेर उसले सोध्यो – साच्ची हो नि तैले भनेको कुरा ?

उसका बुढा तर अनुभवी आँखाहरु चन्द्रभानका आँखाहरुमा चपक्क टाँसिएका थिए। मानौं कि उ उसका आँखाहरुमा सत्य र असत्य बिचको झिनो फरक पहिल्याउँदै छ। सत्यको चमक र असत्यको पातलो छाँया खोज्दै छ।

हो.....हो.....मैले आफ्नै आँखाले देखेको उसले त्यतिखेर हातमा केही गुटमुट्याएको थियो। चन्द्रभानले केही सम्झियो अनि उस्तै हतारमा भन्यो – मलाई थाहा भो रातो रेशमी थैलो थियो त्यो, हैन... ?

बुढोका आँखा चम्किए। उसले हास्दै उत्साहित आवाजमा भन्यो – हो... हो....। रातो रेशमी थैलो। अँ हो मेरो थैलो......।

त्यसपछि बुढाको अघि देखिएको रुप फेरियो। बुढो उसको रौद्र अवतारबाट एकाएक शान्त अवतारमा आयो। उसले जतिसक्दो नरम र चिप्लो भएर चन्द्रभानलाई माया गरेझैं गर्यो। मुसारेझैं गर्यो। कुनै जनावरको नाक मुसारेर खेलाएझैं चन्द्रभानको घाइते नाक मुसार्यो। अनि चन्द्रभानले नमान्दा नमान्दै पनि उसलाई एउटा रमाइलो गर्ने दोकानमा लिएर गयो।

त्यस्ता दोकानहरुको बारेमा चन्द्रभानले अतिथीशालामा निक्कै सुनेको भए पनि देखेको भने थिएन। अतिथीशालामा छिल्लिएका तन्नेरीहरु यस्ता दोकानको खुब कुरा गर्थे। दोकानका तरुनी र खानपानको बिषयमा ति चाख लिइलिइकन कुरा गर्थे। त्यस्ता दोकानको कुरा गर्दा ति एकै पोको परेका हुन्थे अनि खासखास खुसखुस आवाजमा कुरा गर्थे। ति आफुले यस्तो गरें उस्तो गरें भनेर बखान लगाउँथे भने अहिलेसम्म त्यहाँ गएर पनि केही गर्न नपाएकाहरु खिस्रिक्क परेर पछुताई रहेका भेटिन्थे।

कोही भने होइन होला यसले त ठुलै गफ दियो भनेझैं भाव पोतिएको अनुहार लगाएर बस्थे। तर पनि ति त्यस्ता गफ सुन्थे र फोकटको मनोरञ्जन भने लिन पछि पर्दैन थिए।

बुढोले उसको हात बलियो गरि ट्याप्प समातेको थियो। चन्द्रभान इच्छा नभए पनि डोरीले बाँधिएको पशुझैं लतारिदै बुढोको साथ लाग्यो। बुढो अलि अगाडि गए पछि मूलबाटो छोडेर देब्रेतिर मोडियो। त्यो पोलिएका इँट बिछ्याइएको गल्ली थियो। त्यही गल्ली लगभग पचास कदम अगाडि बढेपछि एउटा सानो ढोका देखियो। ढोकामा कलात्मक बुट्टा भरिएको नलको पर्दा झुण्डेको थियो। पर्दामा सितारा जडिएका थिए अनि ति हावाले पर्दा हल्लाउँदा माछाका कत्लाझैं टल्कन्थे।

ढोका दुईमान्छे एकैपटक छिर्न पनि नमिल्लाझैं साँघुरो देखिएता पनि त्यसको सजावटले त्यो भव्य देखिएको थियो। ढोकाको दायाँ बाँया माटोका अग्ला घैंटाहरु थिए लगभग चन्द्रभानकै उचाई बराबरका वा थोरैमात्र होचा। तिनमा भरिएको टिलपिल पानीमा बास्नादार ताजा फूलहरु तैरिरहेका देखिन्थे।

जब चन्द्रभान र बुढो ढोकाबाट भित्र छिरे, चन्द्रभानको आँखा फैलिएर चौडा भए। नगरको अर्को चमत्कार उसको सामुन्ने थियो। ढोकाभित्र छिर्ने बित्तिकै उसलाई लाग्यो उ छुट्टै दुनियाँमा प्रवेश गर्यो। त्यहाँको वातावरण र सजावट गज्जबको थियो। ढोकाबाट छिरेर उनीहरु कुनै घर वा कोठामा होइन भव्य र बिशाल चोकमा आइपुगेका थिए।

चोक फूल पात तोरण र उसले कहिल्यै नदेखेका नाम थाहा नभएका अदभूत चिजबिजहरुले झकिझकाउ थियो। कतैबाट धुँवाझै देखिने मिठो सुगन्ध आउँदै थियो। बजारको कोलाहल र तिखा कानै खाने आवाजहरु त्यहाँ थिएनन्। त्यहाँ थियो मधुरो संगीत। छन् छन चुराहरु वा पाउजु बजेका आवाज। तबला वा त्यस्तै कुनै बाजाका मधुर धुन। तार बाजाहरुको टिङटिङ। तर उसले देखेन त्यो कहाँबाट आइरहेको छ। कसले बजाइरहेको छ।

उ चारैतिर मुण्टो फर्काएर हेर्दै थियो। जब उसका आँखाहरु बुढासँग ठोक्किए बुढो मुस्काइरहेको थियो। उसले आँखा नचाउँदै चन्द्रभानलाई सोध्यो – छक्क परिस् के केटा ?

उसले चन्द्रभानको गालामा बिस्तारै प्याट्ट हान्दै भन्यो – हेर बिचरा तैले बिनसित्तीमा गधा चुटाई पाइस है। तर पिर नगर गधा चुटाई खाए पनि तँ गधा होइनस् मान्छे होस् अनि मान्छेलाई कहिले काँही यस्तो मनोरञ्जन गाना बजाना पनि चाहिन्छ। तँ नडराएस्। मैले अब नगर प्रहरीमा उजूरी दिनेछु अनि तिनले मेरो हराएको मालताल खोज्नेछन्। तैले चोरेको होइनस् भने तँ नडराई मैसँग बस्। तलाई पनि बासको ठेकान हुन्छ। अनि मलाई पनि चोर पत्ता लागेको बखत उसबाट माल असुल गर्न सजिलो हुन्छ। त्यसै पनि मेरो मालताल नभेटिएसम्म मैले तलाई छोड्ने पनि होइन।

उसले चन्द्रभानलाई माथिल्लो तल्लामा लिएर गयो। त्यहाँ ठुला ठुला कोठाहरु थिए। सबै मान्छेका हो हल्ला र नाचगानले रगमगिएका। प्रत्येक कोठाहरुबाट आनन्दका स्वरहरु आउँदै थिए।

कुनै कोठाबाट लौ लौ ठोक् ताल भन्ने आवाज आउँथ्यो त कुनैबाट हुमघडाम् हुमघडाम गरेको बाजाको ताल। ति सबै कोठाहरुमा सिपी वा त्यस्तै जीवहरुमा खपटाका पर्दा झुण्डिएका थिए। कोही त्यतिकै बाहिर तरुनीहरुसँग छिल्लिएर बसेका भेटिन्थे। ति नशाको सुरमा ढलपल गर्दै हास्थे। खित्का छोड्थे। इत्रिन्थे।

त्यती सुन्दर केटी मान्छे चन्द्रभानले कहिल्यै देखेको थिएन। ति बिछट्टका सुन्दरीहरु आफ्ना काला कपालका चुल्ठाले नशाले चुर मान्छेका गालामा प्याट्ट प्याट्ट हान्दै छिल्लिदै थिए। कोही टाउको टाउको जोडेर उभिएका थिए। महिला पुरुषका त्यस्ता बिचित्र र खुल्ला लिला देखेर चन्द्रभानका कान ताता भए। उसलाई उकुसमुकुस भयो। हुनसम्मको लाज लाग्यो र उ अर्कोतिर फर्कियो।

बुढो आफ्नै सुरमा हाँस्दै मुस्काउँदै अगाडि बढी रहेको थियो। हिड्दा हिड्दैको उ रोकियो र एउटा ढोका अगाडि आएर उभियो। त्यस ढोकामा पनि अन्य कोठाका जस्तै पर्दा झुण्ड्याइएको थियो। बुढो कोठामा छिर्यो। त्यो कोठा ठुलो थियो। जताततै सजावटका सरसामानहरु झुण्ड्याइएका। त्यहाँ काठका बाँसका बेतका अनेक अनेक बान्कीहरुका मेच, आरामले बस्न मिल्ने हातो भएका कुर्सीहरु थिए। भित्तामा रंगिन कपडाले छोपिएका बिशेष किसिमका बत्ती बालिएका थिए। तिनको टक मेच र कुर्सीमा पर्थे। कुर्सीमा बसेका मान्छेहरु माथि त्यो रंगिन प्रकास पर्दा ति मान्छेहरु पनि त्यस्तै रंगिन पानीले नुहाएका जस्ता देखिदै थिए।

बुढो दायाँ बायाँ हँसिलो भएर हेर्दै। क्षमा गर्नुस् क्षमा गर्नुस् भन्ने नरम तथा सभ्य शब्द निकाल्दै र नम्र भएर निहुरिदै एउटा कुनोतिर गयो। त्यहाँ दुई कुर्सीहरु र अगाडि सानो तर चिटिक्कको मेच थियो।

बुढो थपक्क गएर एउटा कुर्सीमा बस्यो। मेचमाथिको रंगिन प्रकास परेर बुढो नीर रंगमा रंगियो। त्यस्ता आरामले बस्न मिल्ने कुर्सी तथा मेचहरु चन्द्रभानले पहिलो पटक देख्दै थियो। बुढोको बस् भन्ने इशारासँगै उ बस्न त खोज्यो तर कसरी बस्ने होला भन्ने भेउ नपाएर अलमलियो।

उसको दशा देखेर बुढोलाई भने हुनसम्मको हाँसो लागेछ। उ किलकिल आवाज निकाल्दै खित्का छोडेर हाँस्यो। बुढाको हाँसो अलि बढी नै भएछ कि के हो। झुमीरहेका मानिसहरुका आँखा उतिर सोझिएका देखिए ।

सबैले आफुतिर हेरेको पाउँदा बुढो थोरै लजाएको देखियो। तर उसले तुरुन्त सम्हालिदै भन्यो – यो केटो देहाती गँवार छ र कुर्सीमा कसरी बस्ने हो सो नजान्दा अलमलिएको छ। मलाई यसको पारा देखेर हुनसम्मको हाँसो उठेछ।

अनि उसले थोरै झुकेर थप्यो – माफ गर्नुहोस है हजुरहरु।

बुढोले सबैको छेउमा आफुलाई देहाती गँवार भनेकोमा चन्द्रभानलाई नरमाइलो लाग्यो। अझै सबैको नजर बुढालाई छोडेर आफुतिर सोझिएकोमा उ सपकपियो। बिना नीर रंगको प्रकास उ निलो भएर उभिरह्यो।

त्यतिखेरै एउटा अलि चञ्चले परेको चुल्ठे केटो प्वाक्क बोल्यो। त्यसको लामो चुल्ठो थियो। झलक्क हेर्दा त्यसलाई चन्द्रभानले केटी ठानेको थियो। त्यसैले उसको स्वर सुन्दा उ थोरै झस्कियो पनि। अनि आफु नगरमा कति पाखे ठहरिएछु भनेझैं अनुहार लगाएर निहुरी पर्यो। चुल्ठेले भनेको थियो– केटो देहाती गँवार भए पनि त्यसको चुच्चिएका हाड देखिने पुठ्ठो त होला नि, त्यही टेकाएर बसे त भई हाल्यो नि।

सबै एकै पटक गलल्ल हासे। चन्द्रभानलाई त्यहाँ एक निमेष पनि बस्न मन भएन। उ बाहिर निस्किन खोज्यो। तर बुढो चाँहीले उसको हात ट्याप्प समातेर कुर्सीमा थेचार्दै भन्यो – मेरो थैलो फेला नपरिन्जेल तँ कतै जान पाउँदैनस्।

(काठमाडौं प्रकाशनबाट हालै प्रकाशित उपन्यास 'झेलम' को पुस्तक अंश।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell