PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुटगत संघर्षभित्र पिल्सिएका खेलाडीः क्यानले कारबाही फिर्ता गर्ला कि खेलाडीले ‘ब्याट’ छाड्लान्?



मुकुन्द घिमिरे

गुटगत संघर्षभित्र पिल्सिएका खेलाडीः क्यानले कारबाही फिर्ता गर्ला कि खेलाडीले ‘ब्याट’ छाड्लान्?

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को पछिल्लो बैठकले ४ खेलाडीलाई कारबाही गर्‍यो। अनुशासन उल्लङ्घन गरेको आरोपमा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट नै पदमुक्त गर्‍यो।

असन्तुष्टि मिडियामा गएर बोलेको लगायतका आरोपमा उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कनट्र्याक्टमा नराख्ने निर्णय समेत क्यानले गर्‍यो। खेलाडीहरूलाई कारबाही गरेर क्यानले नयाँ कप्तानीको जिम्मेवारी दियो सन्दीप लामिछानेलाई। यससँगै क्रिकेटभित्र महिनौँदेखि उम्रिँदै गरेको विवाद सतहमा आएको छ।

क्रिकेटको विवाद रातारात सिर्जना भएको हैन। क्यानभित्रको गुटगत संघर्षको परिणाम अहिले देखा परेकोमात्र हो। गुटगत झमेलामा खेलाडी पिल्सिएका हुन्। क्यानको विवादलाई नजिकबाट नियाल्नेहरु वर्तमान र केही पूर्व पदाधिकारी र खेलाडीमालाई समेत विवादमा जोड्ने गर्छन्।

क्रिकेट प्रशंसकदेखि राजनीतिक नेतृत्वले समेत खेलाडीमाथिको कारबाहीलाई गम्भीरतापूर्वक हेरेका छन्। सामाजिक सञ्जालमा ‘ह्यासट्याग क्यानकान्ट’ लेख्दै क्यानलाई निर्णय फिर्ता लिन दबाब दिने पनि कम छैनन्।

क्यान नेतृत्वले खेलाडीमाथि अनुशासनको कारबाही गरेको थियो। खेलाडी वर्गीकरणको विषयमा सुरु भएको विवाद पछि ज्ञानेन्द्र मल्लले गुट बनाएको, राजनीति गर्न खोजेको, खेलाडीहरूको हस्ताक्षर दुरुपयोग गरेको लगायतको तमाम विषयहरूसम्म पुग्यो। खेलाडीहरूलाई क्यानले स्पष्टीकरण समेत लियो। अन्ततः स्पष्टीकरण चित्त नबुझेपछि क्यानले खेलाडीलाई नै कारबाही गर्‍यो। जसले अबको नेपाली क्रिकेटको भविष्य के हुन्छ भन्ने अन्यौला सिर्जना गरेको छ।

खेलाडी र क्यानबीच यसअघि नै विवाद भए पनि मूल विवादको सिर्जना सोमपाल कामीलाई ग्रेड बी'मा राखिएपछि सुरु भएको हो। जसको कप्तान मल्लसहित केही खेलाडीले आलोचना गरेका थिए। अझै मिडियामा नै आएर उनीहरूले विवादलाई सतहमा ल्याएका थिए।

क्यानको दाबी छ, यसले बर्खास्त गरेको ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सकेनन्। उनले गुट बनाए। क्रिकेट प्रशंसक भने क्यानको उक्त भनाइप्रति सहमत छैनन्। नेपाली टिमले मल्लको कप्तानीमा सफलता हासिल गरेको उनीहरूको मत छ।

तर, क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन् 'ज्ञानेन्द्र मल्लजीले टिमलाई एकजुट बनाउन सक्नुभएन। 'एस म्यान'हरुलाई मात्र संरक्षण दिएको देखियो। दर्जनौँ खेलाडीले हामीलाई जबरजस्ती/जानकारी नदिइ दस्तखत लिई क्यानमा पठाइयो। यसको दुरुपयोग गरेर पठाइएको हो यसमा हाम्रो सहमति छैन भनिसकेपछि त केही गडबड छ भन्ने पुष्टि भयो।'

क्यानको आरोपलाई कारबाहीमा परेका खेलाडीहरूले खण्डन गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रसहित चार खेलाडीको मत क्यानको दाबीभन्दा फरक थियो। मल्लले आफूलाई गुट बनाउन आवश्यक नै रहेको प्रष्टीकरण दिएका छन्।

'मलाई कप्तानी जिम्मा दिएपछि गुट बनाउनु पर्छ भन्ने लाग्दैन। मलाई यस्तो जानकारी छैन,' मल्लले भने, 'अरू खेलाडीलाई बहकाएको भन्ने होइन सबैलाई पत्र दिएर गरेका छौँ। एउटै टिम भएर सहमत भएर अघि बढाएको हौँ।'

क्यानले खेलाडीलाई कारबाही गर्ने निर्णय बहुमतबाट पारित गरेको थियो। तर, बोर्डकै सदस्यहरूले उक्त निर्णयको आलोचना गर्दै आएका छन्। बोर्ड सदस्यहरुले नै खेलाडीलाई कारबाही गर्ने निर्णयलाई कालो दिनका रूपमा विश्लेषण गरेका छन्।

'चुनौतीलाई अवसरमा बदल्ने हो, अप्ठ्यारा खुड्किलाहरूको सकारात्मकताका साथ आत्मसात् गर्ने हो। प्रतिशोध र बदला भावनाले व्यक्तिगत सन्तोष त मिल्ला तर समग्र नेपाली क्रिकेट र खेल प्रेमीले बर्षौंसम्म क्षति बेहोर्नुपर्ने हुन्छ,' बोर्ड सदस्य छुम्बी लामाले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्तै गतिविधिमा आफ्नो ऊर्जा खर्च गर्दा क्यान आफूले बोकेको उद्देश्यबाट डगमगिन्छ, दिशाहीन हुन्छ। कारबाही निकास हुँदै हैन भनेर पटक-पटक हामीले झक्झकाउँदा हाम्रो सुझावलाई बेवास्ता गरियो। मर्माहित छु, स्तब्ध छु।'

‘आइ एम डन’

क्यानले विज्ञप्तिमार्फत चार खेलाडीलाई कारबाही गरेसँगै आलोचना सुरु भएको थियो। मिडियामा बोलेको निहुँमा कारबाही गरेकोमा केहीले समर्थन समेत जनाए। तर, क्यानको निर्णयविरुद्ध उत्रने धेरै देखिए।

खेलाडीमाथि कारबाहीपछि अन्य क्रिकेट खेलाडी क्यानविरुद्ध उभिए। सार्वजनिक रूपमा अभिव्यक्ति नदिए पनि फेसबुक र इनस्टाग्रामको स्टोरीबाट उनीहरूले आफ्नो असन्तुष्टि पोखे। कुशल भुर्तेल, रित गौतम, रोहितकुमार पौडेल, करण केसी लगायतका खेलाडीले क्यानले जारी गरेको कारबाही पत्र स्टोरीमा राखेर ‘आइ एम डन टु’ ले। उनीहरूको भनाइको तात्पर्य थियो- क्यानको व्यवहार देखेर हामी आजित भयौँ। अब पुग्यो।

प्रचण्ड र देउवाको चासो

खेलाडीमाथिको कारबाही खेल क्षेत्र र सामाजिक सञ्जालको बहसमा मात्रै सीमित रहेन। राजनीतिक नेतृत्वले नै यस विषयमा चासो देखाउन थालिसकेका छन्।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रिकेटरहरूलाई कारबाही गरेको विषयबारे ध्यानाकर्षण गराएका थिए। लगत्तै देउवाले क्यान अध्यक्ष चन्द्रलाई फोनमा सोधे :खेलाडीलाई कारबाही भएको कुरा के हो?

प्रचण्डले समेत यस विषयमा चासो देखाएको भन्दै देउवाले कारबाही प्रकरणबारे छिटो रिपोर्ट गर्न चन्दलाई निर्देशन दिएका थिए।

भर्खरै दोस्रोपटक कांग्रेसको सभापतिमा निर्वाचित भएका देउवालाई खेलाडी -क्यान विवाद सुल्झाउन दबाब पनि छ। कारण हो क्यान अध्यक्ष चन्द नै।

चन्द्र कांग्रेस नेता हुन्। १४औँ महाधिवेशनमा उनी बैतडी कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। क्यानको कारबाहीसँगै कांग्रेस पार्टीमाथि नै प्रश्न उठेको छ।

खेल प्रशंसकहरूले चन्द र कांग्रेसलाई जोडेर प्रश्न गर्न सुरु गरेको अवस्थामा नेपालीहरूको ‘सेन्टिमेन्ट’ जोडिएको क्रिकेट खेलका विवाद समाधान गर्नु सरकारका लागि आवश्यक छ। त्यसमाथि गठबन्धनमै रहेको पार्टीका अध्यक्षले समेत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको अवस्थामा क्यानले के गर्छ त्यसमा धेरैको नजर छ।

पुनर्विचारको पर्खाइ

कारबाहीमा परेका खेलाडी क्यानले निर्णय पुनर्विचार गर्नुपर्ने पक्षमा छन्। शुक्रबारको पत्रकार सम्मेलनमा क्रिकेटरहरूको जोड क्यानले छलफल गरेर निर्णयलाई पुनर्विचार गरोस् भन्नेमा नै थियो।

'फेरि यसलाई पुनर्विचार गरियोस्। क्यान परिवार हो। यसलाई बल्झाउनु भन्दा सुल्झाइयोस्। संवादमा आएर हल गर्नेतिर जावस् भन्ने हो। छलफलमा बोलाओस् भन्ने हो,' ज्ञानेन्द्र मल्लले भने।

मल्लको दाबी छ, उनले गुट बनाएर कसैको लागि लबिङ गरेको होइन। खेलाडीको अधिकारको बारेमा मत दिएका हुन्।

'गलत गरेको भए माफी माग्ने हुन्छ। खेलाडीको बेसिक राइटका लागि कुरा गर्दा हामीले अनुशासन तोड्यौँ भन्ने मलाई लाग्दैन। हामीलाई यति ठूलो कारबाही हो जस्तो लाग्दैन' उनले भने।

मल्लले खेल्नु आफ्नो कर्तव्य भएको भन्दै राष्ट्रिय टोलीको क्याम्प अघि नै क्यानले यो विषय सुल्झाउनुपर्ने माग समेत गरे।

सोमपालबारे चर्चा

पहिलोपोस्टसँगको अन्तर्वार्ताका क्रममा सोमपाल कामीलाई ग्रेडिङ किन बी'मा किन राखियो भन्ने प्रश्नमा अध्यक्ष चन्दले मापदण्डमा नपरेको दाबी गरेका थिए।

'सोमपाल कामी पर्नुपर्ने आधार के छ भन्दा पनि कमिटीले एउटा क्राइटएरिया बनाएको थियो,' चन्दले भनेका थिए, 'त्यसमा सोमपाल कहीँ कतै अटाएनन्। पहिला म 'ए' मा थिएँ त्यसैले 'ए' मै हुनुपर्छ भन्ने दाबेदारी थियो।'

उनले थप भनेका थिए -यो एउटा प्रक्रिया हो। बोर्डले निर्धारण गरेको कोटाभित्र अटेन। फेरि पनि बोलायौँ। फेरि पनि सोध्यौँ। छुट्टाछुट्टै धारणा राख्न भन्यौँ। तर क्यान चाहिँ केही होइन भन्ने खालको सम्मका पनि कुरा आए।

अर्कोतर्फ मल्ल भने आफूहरूलाई करार अघि मापदण्डको बारेमा जानकारी नदिएको दाबी गरेका छन्।

'हामीलाई करारमा हस्ताक्षर गर्नुअघि मापदण्डको बारेमा भनिएको छैन। यसबारे इमेल आउने भनिएको थियो। तर आएन', मल्लले भने।

क्यान र खेलाडी विवाद बढ्दै जाँदा कारबाहीमा परेका खेलाडीले भने विवादलाई बल्झाउनभन्दा सुल्झाउन नै जोड दिएका छन्। क्रिकेटरहरूलाई खेल्ने वातावरण बनाइदिन आग्रह गर्दै उनहरुले भनेका छन्, ‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दूर्भाग्यपूर्ण अवस्था नबनोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell