
युरोपमा ओमोक्रन भाइरस प्रकाशको रफ्तारमा फैलिन थालेको छ र फ्रान्समा वर्षको सुरुवातसम्म यसले छपक्कै असर पार्ने प्रधानमन्त्री जोन क्यास्टिक्सले चेतावनी दिएका छन्।
बेलायतबाट फ्रान्समा यात्रा निषेध लागू गर्नु केही घन्टा अगाडि उनले यस्तो अभिव्यक्ति दिएका हुन्। हिजोमात्रै बेलायतमा १५ हजार ओमोक्रन संक्रमित पुष्टि भएको छ। यसले सिंगो युरोपलाई प्रभाव पार्ने बताइएको छ।
कोभिड १९ को आउँदो लहरबाट बच्नु युरोपेली मुलुकहरुलाई ठूलो चुनौती बनेको छ। जर्मनीले थप निषेधाज्ञाका प्रावधान अगाडि बढाएको छ। आयरल्यान्ड र नेदरल्यान्डले पनि कडाई सुरु गरेका छन्।
जर्मनीमा शुक्रवारमात्र ५० हजार नयाँ केस पहिचान भएको छ। जर्मनीका स्वास्थ्य मन्त्रीले अहिलेसम्म नभोगेको अवस्थाका लागि तयार हुनुपर्ने बताएका छन्।
बेलायतमा तीन दिनमा ९३ हजारभन्दा बढी संक्रमित थपिएका छन् जसमा ओमोक्रन भेरियन्टको संख्या अधिक छ।
फ्रान्सले बेलायतसँग पर्यटक र व्यवसायिक आउजाउको नाका बन्द गर्ने निर्णय गरेको छ। निर्णयसँगै मानिसहरुको नाकामा चर्को भिड लागेको थियो।
फ्रान्सले दोस्रो र तेस्रो खोप बिचको समयाधीलाई घटाउने तयारी समेत गरेको छ। लामो दुरीको सार्वजनिक यातायात र रेस्टुराँमा समेत पूर्ण खोप नलगाएका व्यक्ति निषेध गरिएको छ।
साथै, नयाँ वर्षमा सरकारीस्तरबाट हुने सबैखाले समारोह र आतिसबाजीका कार्यक्रमहरु रद्द गरिएको छ।