
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन्।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक वक्तव्य जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन आफू प्रतिबद्ध रहने उनले बताएका छन्। शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका मुख्यमन्त्री शाही शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका बद्री पाण्डेसँग पराजित भएका थिए।
उहाँले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना समेत दिएका छन्। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत-हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ।
पार्टीमा महामन्त्रीका लागि उम्मेदवार बनेका रक्षा मन्त्री मिनेन्द्र रिजालले पराजित भएसँगै पदबाट राजीनामा दिएका थिए। शाही पराजित भएपछि पनि उनले राजीनामा दिन्छन् कि दिँदैनन् भन्ने चर्चा कांग्रेस भित्र चलेको थियो। यसबिच उनले आफूले पाएको जिम्मेवारी बिचमा छाडेर नजाने बताएका छन्।
'म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बिचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन' उनले भनेका छन्। रासस