PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

१८ वर्षअघि बनेको सभागृह भत्काएर १३ तले भवन निर्माण गर्दै हेटौंडा उपमहानगर



निशा गुरुङ

१८ वर्षअघि बनेको सभागृह भत्काएर १३ तले भवन निर्माण गर्दै हेटौंडा उपमहानगर

हेटौंडा : वर्षौदेखि प्रयोगविहीन अवस्थामा रहेको हेटौंडा उपमहानगरपालिका-४ स्थित वासुदेव सभागृहलाई भत्काउन सुरु भएको छ।

हेटौंडा उपमहानगरपालिकाले उक्त भवनलाई भत्काएर बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ। उक्त भवन निर्माण गर्नका लागि ठेक्का पनि दिईसकेको छ।

२०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाको हुप्रचौरमा निर्माण गरिएको सभागृह प्रयोगमा आउन सकेको थिएन। तत्कालिन नगरप्रमुख मधु अधिकारीको समयमा सभागृह निर्माण सुरु गरिएको थियो। त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महसुस भएपछि अधिकारीको समयमा स्थानीय विकास मन्त्रालय र नगरपालिकाको संयुक्त २ करोड ५० लाख लागतमा सभागृह निर्माण सुरु गरिएको थियो। 

सभागृह निर्माणाधीन रहँदै नगरप्रमुख अधिकारीको कार्यकाल सकिएपछि त्यसलाई पूर्णता दिनेतर्फ कसैले चासो देखाएनन्। फलस्वरुप निर्माण प्रारम्भ भएको १८ बर्ष बितिसक्दा पनि सभागृह प्रयोगमा आउन सकेन।  

अहिले भने खण्डहर बनेका उक्त भवनको संरचनालाई हटाएर नयाँ संरचना बनाउन उपमहानगरपालिका लागेको हो।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पहिलाको भवन प्राविधिक रुपमा त्रुटिपूर्ण रहेकोले प्रयोगमा नल्याई भत्काइएको बताएका छन्। उपमहानगरले सो क्षेत्रमा अब बृहत व्यापारिक भवनसहित मनोरञ्जनका लागि भ्यू टावरको निर्माण गर्ने तयारी गरेको छ। उपमहानगरले सभागृह भत्काएर बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने योजना अघि सारेको हो।

उपमहानगरले आयस्रोत वृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको भ्यू टावर निर्माणको थालनी गरेको हो।

भ्युटारबाट हेटौंडाको दृश्यावलोकनसँगै बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रयोजनका लागि सटर बनाउने योजना छ। वाग्मती प्रदेश सरकार र उपमहानगरको साझेदारीमा वासुदेव स्मृति कमर्सियल भ्युटावरको निर्माण हुन लागेको हो।

उपमहानगरले सभागृह भत्काएर सोही स्थानमा १३ तलाको बहुउद्देशीय भवन निर्माणका लागि मंसिर अन्तिम साता निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेको थियो। कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा काम गर्ने गरी लामाररसुवार बानियाँ जेभीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell