
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेशबाट ल्याएको ५ सय ९० ग्राम सुन सहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडि अबु जिहाद रहेका छन्। उनीहरूमध्ये अहमेदको साथबाट ३ सय ३० ग्राम र जिहादको साथबाट २ सय ६० ग्राम सुन जस्तो देखिने धातु बरामद भएको हो।
हिमालयन एयरलाईन्सको उडानद्धारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्याशण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।