PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

बुटवलको चौराहा-गोलपार्क सडक : ‘भेरिएसन अर्डर’ स्वीकृतिसँगै विस्तारको काम अघि बढ्यो



रमेश पराजुली

बुटवलको चौराहा-गोलपार्क सडक : ‘भेरिएसन अर्डर’ स्वीकृतिसँगै विस्तारको काम अघि बढ्यो

बुटवल : लामो समयदेखि बुटवल बजार क्षेत्रभित्र अलपत्र अवस्थामा रहेको सडक विस्तारको काम अगाडि बढेको छ। ठेकेदारको ढिलासुस्ती र अटेरीले रोकिएको बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्म चार किलोमिटरको ६ लेन सडक विस्तार आयोजनाको ‘भेरिएसन अर्डर’ (भिओ) स्वीकृत भएसँगै कामले गति लिने अपेक्षा गरिएको हो।

सडक विभागले ‘भेरिएसन अर्डर’ स्वीकृत नगर्दा भुक्तानीको प्रक्रियामा ढिलाई भएपछि काममा बाधा पुगेको गुनासो गर्दै निर्माण कम्पनीले काममा अटेरी गरिरहेको थियो। पहिलो चरणमा, नाला, फुटपाथसँगै कल्भर्ट निर्माणको काम शुरु भएपनि निर्माण कम्पनीले बीचमै काम रोकेको थियो।

सडक भत्किएर छियाछिया हुनुका साथै त्यसबाट निस्किएको धुलोले बजार क्षेत्र कुहिरोमण्डल हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले चौराहा-गोलपार्क सडक विस्तारको काम शुरु भइसकेको बताए।

‘कतिपय कागजी प्रक्रियाका काम र  शुरुको भेरिफिकेसनमा भएका कमीकमजोरीको फाइदा उठाउँदै केही समयदेखि ठेकेदारले बदमासी गरिरहेको थियो, सडक विभागले भेरिएसन अडर्र स्वीकृत गरेसँगै अब विस्तारको काम तिव्र रुपमा अगाडि बढ्छ’, उनले भने , ‘निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालयको पूर्ण सहयोग छ, अब ठेकेदारले कुनैपनि बहाना बनाएर सडक विस्तारको काम रोक्ने ठाउँ छैन। काम समयमै सम्पन्न गराउन नागरिकस्तरबाटै दबाब आवश्यक छ।’

सडक विस्तारको लागि ‘साइड क्लियर’ भएर चौराहादेखि मिलनचोकसम्म दुवैतर्फका नाली निर्माण भएको भन्दै उनले अन्य क्षेत्रमा रोकिएको काम अब तत्काल अगाडि बढ्ने बताए। अदालतले दिएको आदेशसमेत अटेर गर्दै अझैपनि केही घरधनीहरुले सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली नगरेको बताउँदै तत्काल घरटहरा हटाइ सडक निर्माणमा सहयोग गर्न मरासिनीले आग्रह गरे।

ठेकेदारको लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि लुम्बिनी प्रदेशको मुकाम लामो समयदेखि सर्वसाधारणका लागि सास्तीको थलो बन्दै गएको थियो। दैनिक हजारौँ सवारीसाधन र लाखौँ यात्रु ओहोरदोहोर गर्ने चौराहा-गोलपार्क खण्ड विस्तारका लागि ठेकेदार कम्पनी द कञ्चनजंघा-बिरुवा जेभी काठमाडौंले ३ वर्षअघि ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का पाएको थियो।

२०७४ सालमा निर्माणको लागि ठेक्का लिँदा २०७६ साल असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण कम्पनीले विभिन्न बाहानामा समय थप्दै आएको थियो। घरधनीहरूको पटकपटकको अवरोध र मुद्दाका कारण काम अगाडि बढ्न नसकेपछि तेस्रो पटक गरी २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्नुपर्ने गरी म्याद थप भएको छ।

खाल्डाखुल्डी र धुलोका कारण बजारको मुख्य सडकमा बिहानदेखि साँझसम्मै ट्राफिक जाम हुन्छ। ओहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुलोले मोटरसाइकल, साइकल र पैदलयात्री सबैभन्दा बढी मारमा पर्ने गरेका छन्।

धुलोले सडक कुहिरोमण्डल हुँदा यही सडक हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारण, यात्रु र चालक नचिनिने हुन्छन्। मानव स्वास्थ्यमै असर पुर्‍याउँदा पनि सम्बन्धित निकायले चासो नदिँदा लामो समयदेखि सर्वसाधारणले सास्ती खेप्नु परेको थियो।

ठेकेदारले यसअघि नै पेश्कीस्वरूप ८ करोडभन्दा धेरै रकम लगिसकेको छ। २०६८/०६९ बाट निर्माण शुरू भएको आयोजना राजमार्ग चौराहाबाट सुनौलीसम्म करिब निर्माण सम्पन्न भए पनि सडक संरचनाभित्र परेका घरधनी अदालत जाँदा बुटवल बजारमा सडक विस्तारको काम अगाडि बढ्न सकेको थिएन। पटक-पटक सडक विस्तारको काम अगाडि बढाउन सडक डिभिजन कार्यालयले आग्रह गरे पनि ठेकेदार कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गएको असारमा ठेकेदारलाई निगरानीमा राखेको थियो।

पछिल्लोपटक सडक विस्तार आयोजनाले गएको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन शुरू गरेपनि केहीले अटेर गरेपछि प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घरटहरा डोजर चलाएर भत्काइएको थियो।

पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गत पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell