PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बार्सिलोनाको रोमाञ्चक जित, एट्लेटिको मड्रिडलाई सेभियाले हरायो



पहिलोपोस्ट

बार्सिलोनाको रोमाञ्चक जित, एट्लेटिको मड्रिडलाई सेभियाले हरायो
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि रोमाञ्चक जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले एल्चेमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको १६ औं मिनेटमा ओसमान डेम्बेलेको पासमा फेरान जुटिगा ब्लान्कले हेडर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै १९ औं मिनेटमा बार्सिलोनाका १७ वर्षे खेलाडी गाभीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। ला लिगामा उनको यो पहिलो गोल हो।

पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रहे पनि दोस्रो हाफमा एल्चे खेलमा फर्कन सफल भएको थियो। खेलको ६२ औं मिनेटमा टेटे मोरेन्टे र ६३ औं मिनेटमा पेरे मिल्लाले गोल फर्काउँदा एल्चे खेलमा फर्कन सफल भयो। उता बार्सिलोनाको जितका लागि भने निको गोञ्जालेजले निर्णायक गोल गरे। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले ८५ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले ३-२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा सेभियाले एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले हरायो। घरेलु टोली सेभियाले खेलको ७ औं मिनेटमै इभान राकेटिचको गोलमा अग्रता बनाएको थियो।

यद्यपि ३३ औं मिनेटमा एट्लेटिकोका फिलिपेले गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा सेभियाका लुकास ओकामपोसले निर्णायक गोल गरे। उनले खेलको ८८ औं मिनेटमा सेभियाले खेल २-१ गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो।

योसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको सेभिया १७ खेलबाट ३७ अंक जोडेको छ। जबकी शीर्षस्थानको रियल मड्रिडले समान खेलबाट ४२ अंक जोडेको छ। त्यस्तै पछिल्ला तीनवटा खेलमा लगातार हार ब्यहोरेको एट्लेटिको मड्रिड तालिकाको पाँचस्थानमा छ भने बार्सिलोना २७ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell