PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पछिल्ला दिन काठमाडौंमा किन भोग्न परिरहेको छ चर्को ट्राफिक जाम?



सविन ढकाल

पछिल्ला दिन काठमाडौंमा किन भोग्न परिरहेको छ चर्को ट्राफिक जाम?

काठमाडौं : तपाईँ काठमाडौंका सडकमा यात्रा गरिरहनु भएको छ भने केही सातायता अत्यासलाग्दो ट्राफिक जाम भोगिरहेको हुनुपर्छ। मङ्सिर महिना सुरु भएसँगै ट्राफिक जाम यसरी भइरहेको छ कि त्यसले तपाईँको गन्तव्यसँगको दुरी यथावत रहे पनि समय भने बढी नै खर्चिन परिरहेछ। त्यसैले, अहिले काठमाडौंको एक ठाउँबाट अर्को गन्तव्यमा पुग्न ट्राफिक जामका लागि भनेर आधादेखि एक घण्टासम्मको समय छुट्याउन पर्छ।

काठमाडौंवासीका लागि ट्राफिक जाम नौलो चाहिँ होइन। तर, पछिल्लो अवधिमा अप्रत्यासित हिसाबले जतासुकै ट्राफिक जाम भोग्नु परिरहेको छ। अफिस समयमा मात्र होइन, मध्यान्हमा समेत काठमाडौंमा जताततै जाम। मूल सडकमात्र होइन, भित्री तथा शाखा सडकमा पनि ट्राफिक जामकै सकस। ट्राफिक जाम कम होस् भनेर बनाइएका नदीका करिडरमा समेत बेहाल। कोरिडरका साँघुरा पुलले झनैं अस्तव्यस्त। कतै तिनै पुलमा घण्टौं जाम। ट्राफिक प्रहरीको उपस्थिति कम हुने र चालकको मनमौजी शैलीले करिडरमा चर्को जाम खेप्न परिरहेको छ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी महाशाखाले हेर्दै आएको छ। एसएसपीको नेतृत्वमा १ हजारभन्दा बढी ट्राफिक प्रहरी उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनका लागि खटिएका छन्। तै पनि किन भइरहेको छ यात्रुलाई हैरान बनाउने गरी ट्राफिक जाम?

काठमाडौंमा ट्राफिक जाम बढेको स्वयम् ट्राफिक प्रहरी समेत जानकार छ। उसको बुझाईमा ट्राफिक व्यवस्थापन भन्दा बढी सडक र सवारीको अवस्थाले जाम बढेको हो। सडक पूर्वाधारको अभाव र ट्राफिक नियम पालना नगर्दा ट्राफिक जाम बढेको प्रहरीको निष्कर्ष छ।

'कार्यालय समय जाम अहिले पनि छ। तर, घन्टौं फस्ने जाम छैन। ५/७ मिनेटमा नै जाम हटेको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव दाश शर्माले भने।

अहिले उपत्यकाभित्र मात्र १८ लाख सवारी साधन दर्ता भइसकेका छन्। जसमा केही पुराना सवारी साधन हटे पनि त्यसको रेकर्ड यातायात व्यवस्था कार्यालयसँग छैन। दर्ता भएका सवारीको सङ्ख्यामा पुराना सवारी सङ्ख्या हटाउँदा पनि १५ लाख सवारी साधन चालु अवस्थामा नै रहेको अनुमान गर्न सकिन्छ। ती मध्ये ६० प्रतिशत सवारी साधन सडकमा निस्किने गरेको ट्राफिक प्रहरीको आँकलन छ। यस अर्थमा काठमाडौं उपत्यकाभित्र दैनिक ९ लाख सवारी साधन गुड्ने गरेका छन्।

तर, एकाएक किन ट्राफिक जाम देखिएको चाहिँ किन त?

ट्राफिक प्रहरी भने कोभिडका कारण विद्यालय बन्द भएका र विद्यालय खुलेपछि ट्राफिक जाम ह्वात्तै बढेको दाबी गर्छ। बिहान विद्यालयका बस आवतजावत गर्दा ट्राफिक जाम केही धेरै भएको एसपी सञ्जीव दास शर्मा बताउँछन्।

'झन्डै दुई वर्षसम्म कोभिडको कारण सवारी बन्द झैँ भए। विद्यालयहरू खुलेनन्। अहिले सबै विद्यालय खुलेका छन्। मानिसले दुई वर्षअघिको जाम बिर्सिए। त्यसैले पनि अहिले जाम धेरै भएको हो कि भन्ने महसुस भएको हो,' एसपी शर्माको भनाइ छ।

त्यसो त ट्राफिक लाइटका कारण पनि केही स्थानमा जाम बढेको अनभूति गर्न सकिन्छ। प्राय कम जाम हुने दरबारमार्ग, सानो गौचरन लगायतका क्षेत्रमा पनि अहिले जाम देखिन थालेको छ। जथाभावी सडक काट्ने मानिसको प्रवृत्ति, गलत साइटबाट सवारी गुडाउने शैलीले पनि जाम गराउन भूमिका खेलिरहेको छ।

मङ्सिर महिनामा विवाह र राजनीतिक दलका गतिविधि पनि तीब्र भए जसले यसमा मलजल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell