
नेदरल्यान्डले क्रिसमसको समयमा कडा लकडाउन गर्ने भएको छ। ओमोक्रन भाइरसको तीब्र फैलावट रोक्नका लागि उसले लकडाउनमा कडाई गरेको हो।
अत्यावश्यक बाहेकका पसलहरु, बार, जिमखाना, सैलुन तथा सार्वजनिक यातायात मध्य जनवरीसम्म बन्द हुन्छन्। सार्वजनिक विदाका दिनमा कुनै पनि परिवारमा दुई जनाभन्दा धेरै पाहुना जान र राख्न नपाउने व्यवस्था गरिएको छ।
नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले संक्रमण नियन्त्रणका कदमलाई अनिवार्य भएको बताएका छन्।
नयाँ भेरियन्टको तीब्र फैलावटका कारण पूरै युरोपभर लकडाउन कडाइका साथ लागू भइरहेको छ। नेदरल्यान्डमा कोभिड १९ को ओमोक्रन भेरियन्टको रफ्तार रोक्नका लागि आइतवारदेखि लागू हुनेगरी कडाई सुरु भएको हो।
नयाँ नियमअनुसार सबै नागरिकलाई मिलेसम्म घरबाट बाहिर ननिस्किन भनिएको छ। १३ वर्षभन्दा माथिका दुई जनामात्र पाहुनालाई आफन्तकहाँ जान मिल्ने व्यवस्था गरिएको छ। २४ देखि २६ डिसेम्बर र नयाँ वर्ष र त्यसको एक दिन अघि चार जनासम्म एक परिवारमा रहन पाउने बताइएको छ।
जनवरी ९ सम्मका लागि सबै शैक्षिक संस्था बन्द गरिएको छ भने अन्य क्षेत्रलाई १४ जनवरीसम्म लकडाउन कायम राखिएको छ।
रेस्टुरेन्टहरुले टेक अवेका हिसाबले निरन्तरता पाउन सक्छन् भने अत्यावस्यक बाहेकका वस्तुहरु 'क्लिक एन्ड कलेक्ट सर्भिस' मा सीमित गरिएको छ।
एक साताका लागि अस्पताल क्षेत्र र सांस्कृतिक कार्यक्रम हुने स्थलहरुमा कर्फ्यु लगाइएको छ ता कि मानिसको भिड नहोस्।