PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ



पहिलोपोस्ट

य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

य:मरि चामलको पिठोबाट बनाइन्छ। तर, भक्तपुरमा दशैंको महाअष्टमीका दिन कालरात्रीमा तलेजु मन्दिरमा विशेष प्रकारको य:मरि तयार हुन्छ। १०८ वटा गहुँको पिठोले बनाइएको य:मरि त्यस दिन तलेजु भवानीलाई चढाइन्छ। चामलको पिठोबाट बन्ने य:मरि तिल, चाकु, खुवाको प्रयोग गरी बफाउने गरिन्छ।

तर तलेजुमा सो दिन गहुँको पिठोबाट बन्ने य:मरिभित्र घ्यु राखिन्छ। स्वरुपमा य:मरि जस्तै भए पनि त्यसलाई बफाउने गरिदैन। घ्यु राखेर तयार पारिएको य:मरि लाई बाँकी रोटीहरु जस्तै घ्युमै तारेर बनाइन्छ। य:मरि बाहिर चिनी वा सख्खर हालिन्छ।

तलेजु भवानी मन्दिर राजाहरुको आगम घर हुने भएकाले देवीलाई केही विशेष चढाउने राजाले सर्वसाधारणको घरमा पाक्ने य:मरि भन्दा पृथक र विशेष य:मरि तलेजुलाई चढाउने गरेको कथन छ। 

+++

यस्तै, भक्तपुरका धौभडेलहरुको घरमा य:मरि पुन्हीका दिन य:मरि पकाइँदैन। यसको कारण पनि रोचक छ।

पहिला धौभडेलहरुको परिवार वृहत थियो। धेरै परिवार एकै घरमा बस्थे। एउटै भान्छाबाट काम चलाउँथे।

य:मरि पुन्हीका दिन बिहानैदेखि बुहारीहरुको काम य:मरि बनाइरहनु मात्रै हुन्थ्यो। घरका मान्छेहरु भान्छामा आउने र पकाएको य:मरि खाने गर्थे। जति य:मरि बनाए पनि नपुग्ने। बुहारीहरु य:मरि बनाउनमै व्यस्त।

सबै य:मरि सकेपछि भने घरको थकाली आफ्नो नित्यकर्म सकाएर भान्छामा आएछन्। बुहारीहरुसँग य:मरि मागेछन्। बुहारीहरुले य:मरि सकेको बताए। य:मरि पुन्हीकै दिन एउटा य:मरि खान नपाएको थकाली र बिहानदेखि काम गर्दै आएका बुहारीहरुबीच त्यस विषयलाई लिएर भनाभन भएछ।

पछि थकालीले अबदेखि य:मरि पकाए आफ्नो टाउको पकाएको सरह हुनेछ भनेर श्राप दिएछन्।

त्यसबेलादेखि य:मरि पुन्हीका दिन धौभडेलहरु कहाँ य:मरि नपकाएको कथन छ। त्यसदिन आफन्त, छिमेकीहरुले य:मरि धौभडेलहरुलाई य:मरि दिन ल्याउने चलन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell