PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

खेलाडी बिदाइ कार्यक्रममा भलिबल संघका महासचिव चन्दलाई खेलकुद मन्त्रीको सुझाव : खेलाडीका अघि दु:ख नबिसाउँ



पहिलोपोस्ट

खेलाडी बिदाइ कार्यक्रममा भलिबल संघका महासचिव चन्दलाई खेलकुद मन्त्रीको सुझाव : खेलाडीका अघि दु:ख नबिसाउँ

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि बंगलादेश जान लागेको नेपाली पुरुष तथा महिला टोलीलाई आइतवार नेपाल भलिबल संघले बिदाई कार्यक्रम राखेको थियो। ढिला गरि सुरु भएको कार्यक्रममा औपचारिकता सुरु भयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक पनि सहभागी थिए।

भलिबलको कार्यक्रम चलिरहँदा मन्त्री गहतराजलाई अर्को कार्यक्रममा जान हतारो थियो। त्यसै पनि ढिला सुरु भएको कार्यक्रम, त्यसमाथिको औपचारिकता। स्टेजमा उनको छटपटाहटमा थिए।

भलिबल संघको कार्यक्रमको विशेषता नै हुने गर्दछ लामो औपचारिकता, भाषणहरु र मायाको चिनो दिने कार्यक्रम। आजको कार्यक्रममा पनि भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबलको बेलि बिस्तार लगाए सँधै झै।

उनले जगतजित श्रीपाली खेलकुद मन्त्री र पुष्पकमल दाहल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भलिबल राष्ट्रिय खेल बनेकोदेखि भलिबलको कभर्डहल नभएको, फुटबल/क्रिकेटको जस्तो अन्तर्राष्ट्रिय सहयोग नआएको सम्मका विषयहरु दोहोर्‍याए।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालयसम्म विभिन्न प्रकृयागत समस्याहरुले अफ्ठ्यारो परेको जिकिर गरे। उनले मन्त्रीको पहलमा भलिबल खेललाई सहयोग पुग्न पर्ने आशय व्यक्त गरे।

उनले टिम गेम भएकोले यसका लागि खर्च धेरै हुने र स्पोन्सरसिपमा चल्नु कठिन भइरहेको बताए। र, कार्यक्रम थियो खेलाडी बिदाई। चर्चामा रहेको प्रसंग थियो भलिबल संघका दुख।

अनि पालो आयो खेलकुद मन्त्री गहतराजको। मञ्चमा छँदा हडबडाएको देखिएका गहतराज मञ्चमा गएर शान्त रुपमा प्रस्तुत भए। उनी जति शान्त बोले त्यति नै कडा बोले। सुरुमा राखेपमा खाली रहेको पुरानो स्वीमिङ पुलतर्फको जमीन भलिबल संघलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका उनले पछि भलिबल संघका महासचिवलाई पाठ सिकाए।

‘मैले त आज नराख्नुस् ती कुरा भनेको थिएँ। मन्त्रालयमा यसलाई बसेर अलि सिरियस्ली छलफल गरौंला’, मन्त्री गहतराजले भने, ‘म भाषणमा भन्दा काममा विश्वास गर्ने मान्छे हो।’

म प्रधानमन्त्रीसँग पनि खेलको विकासबारे छलफल गरिरहेको बताउँदै यहाँको चिन्ता नलिइ खेलमा केन्द्रीत हुन सुझाए।

‘महासचिवले आज जे कुरा राख्नु भयो, त्यो आज राख्ने कुरा होइन। यो तपाइहरुलाई (खेलाडी)लाई बाहिर पठाएर हामीसँग टेबल ठट्टाएर गर्नेकुरा हो’, उनले अगाडि भने, ‘यो देशभित्र केके समस्या छन्, केके पीडा छन् भन्ने दिमागमा नराखेर जितेर आउनुपर्छ भन्नेमात्र सोच्नुहोस्।’

उनले अफ्ठ्यारोका बीच पनि महिला खेलाडीहरुले स्वर्ण पदक जितेको बताउँदै हौसला प्रदान गरे।

खेलाडी बिदाई

कार्यक्रममा संघले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गरेको थियो। नेपाली टोली भोलि बंगलादेश जाँदैछ।

पुरुष टोलीका कप्तान इम रानाले पदक प्राप्तीको लक्ष्य रहेको बताएका थिए भने महिला टोलीकी कप्तान अरुणा शाहीले उपाधि जित्ने लक्ष्य रहेको बताइन्। महिला तर्फ ६ टोली (नेपाल, बंगलादेश, कीर्गस्तान, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान) प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ ५ टोली (नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान) प्रतिस्पर्धामा रहने छन्।

नेपाली पुरुष टोली

इम बहादुर मगर, हरि बहादुर थापा, दुर्गाबहादुर खड्का, हरि बहादुर अधिकारी, भैरव बहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, टेकराज अवस्थी, राजेन्द्र बिस्ट, विशालबहादुर बिक, शरण समरी क्षेत्री, बिनोदबहादुर चन्द।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell