
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर र लिभरपुल बराबरी रोकिएका छन्। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेलेका हुन्।
खेलको १३ औं मिनेटमा ह्यारी केनको गोलमा टोटेनहमले खेलमा अग्रता बनाएको थियो। यद्यपि ३५ औं मिनेटमा रोबर्टसनको पासमा डिएगो जोटाले हेडिङमार्फत गोल गर्दा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो।
दोस्रो हाफमा एन्ड्र्यु रोबर्टनसनले लिभरपुललाई अग्रता दिलाए। उनले खेलको ६९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका थिए। तर, लिभरपुलका गोलकिपर एलिसन बेकरको सामान्य गल्तीको फाइदा उठाउँदै टोटेनहमका सन ह्युङ मिनले ७४ औं मिनेटमा खेल बराबरीमा ल्याए। त्यस्तै ७७ औं मिनेटमा टोटेनहमका इमर्सन रोयललाई फउल गरेपछि रोबर्टसनलाई रेफ्री पउल टायर्नेले रेड कार्ड दिए। खेल अवधिभर रेफ्रीसँग आक्रामक देखिएका लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उनको आलोचना गरेका छन्।
'मलाई थाहा छैन, उनको मसँग समस्या के हो? उनका तीनवटा निर्णय मध्ये दुई वटा गलत थिए, तर तीनवटै मेरा विरुद्ध थिए।' उनले भनेका छन्।
बराबरीसँगै लिभरपुललाई शीर्षस्थानको होडमा धक्का लागेको छ। १८ खेलबाट लिभरपुलले ४१ अंक जोड्दा शीर्षस्थानको सिटीले समान खेलबाट ४४ अंक जोडेको छ। २६ अंक जोडेको टोटेनहम तालिकाको सातौं स्थानमा छ।