PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

पहिलो जितको खोजीमा फ्रेन्ड्स क्लब र एपीएफ, रेलिगेशन क्षेत्रबाट माथि उठ्ने अवसर



पहिलोपोस्ट

पहिलो जितको खोजीमा फ्रेन्ड्स क्लब र एपीएफ, रेलिगेशन क्षेत्रबाट माथि उठ्ने अवसर
सातदोबाटो युथ क्लब (सेतो जर्सी) सँग प्रतिस्पर्धा गर्दै एपीएफका खेलाडी। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेशन क्षेत्रमा रहेका फ्रेन्ड्स क्लब र एपीएफ मैदानमा उत्रने छन्।

फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र एपीएफविरुद्ध राम्रो तयारी रहेको भन्दै तीन अंक महत्वपूर्ण हुने बताए।

'हामी दुईवटा अंक छ। एपीएफसँग राम्रै तयारी छ। एपीएफ राम्रो टिम छ। पछिल्लो म्याचहरुमा राम्रो देखिएको छ। जसरी नि जित्नुपर्छ। लिगको महत्वपूर्ण खेल हो,' फ्रेन्ड्स क्लबका प्रशिक्षक मिश्रले भने, 'सबै एउटै लेभलको छ। चार चरण हेर्दा कोइ कोइभन्दा कम छैन। जसले त्यो दिन राम्रो खेल्यो उसैले जितिरहेको छ। सबै बराबर लेभलको कुरा छ। मछिन्द्रले पनि कुनै टिमलाई सजिलै जित्छ भन्ने अवस्था छैन।'

उनले अगाडि भने: फुटबलमा सजिलो हुन्न।

सातदोबाटो युथ क्लबसँगको प्रतिस्पर्धामा फ्रेन्ड्स क्लब (निलो जर्सी)का खेलाडी


फ्रेन्डस् क्लबका कप्तान प्रकाश बुढाथोकी भने आजको खेलमा मैदान नउत्रने मिश्रले बताए।

'प्रकाश बुढाथोकीले अझ ३/४ वटा गेम खेल्दैनन्। लिगामेन्ट च्यातिएको छ। माघमा ब्रेक भएपछि खेल्न सक्ला डाक्टरले त्यहि भनेको छ।' उनले भने।

लिगमा फ्रेन्ड्स क्लबले दुई बराबरी र दुई हार ब्यहोरेको छ। आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो खेलमा दोस्रो खेलमा संकटा क्लबसँग २-१ गोलअन्तरको पराजय ब्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा थ्री स्टार क्लबसँग १-१ गोलको बराबरी खेल्दा चौथो खेलमा मनाङ मर्स्याङदी क्लबसँग २-० को पराजय ब्यहोरेको थियो।

त्यस्तै विभागीय टोली एपीएफले पनि फ्रेन्डस् क्लबसँग ३ अंककै लागि खेल्ने योजना बनाएको छ।

'अपोनेन्टको कमजोरी विश्लेषण गरेका छौं भने आफ्नो कमजोरी सुधार्न कोशिष गरेका छौं। दुबै टीमलाई तीन अंकको महत्व छ। हामी तीन अंकका लागि खेल्दैछौं,' एपीएफका सहायक प्रशिक्षक रत्नकाजी श्रेष्ठले भने, 'रेलिगेशन जोनबाट माथि उठ्ने हो। हाम्रो लक्ष्य ४ देखि ८ थियो। कमीकमजोरी सुधार्दै आइरहेका छौं।'

उनले खेलाडीहरु बाहिरिने र चोटका कारण विदेशी खेलाडी भित्र्याउने तयारीबारे पनि बताए।

'हाम्रो प्लेयर कोही क्लब छाड्ने कोही विदेशीने लगायतको गाह्रो छ,' उनले भने, 'विदेशी खेलाडी ल्याउन क्लब सकारात्मक छ। अर्को म्याचमा ल्याउन पनि सक्छौं। पेपरवर्क चलिहरेको छ।'

एपीएफले यसअघि पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ को पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० को पराजय ब्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग ४-१ को फराकिलो हार ब्यहोर्दा चौथो खेलमा आएर थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक खोसेको थियो।

१ बजेबाट सुरु हुने आजको खेलमा जित निकाल्ने टोलीले रेलिगेशनको दवाबबाट केही राहत महसुस गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell