PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नक्कली लालपूर्जाकै भरमा बैंकको ऋण प्रकरणमा योगेश्वर अनुभूति : म आफैँ फिल्मको हिरो जस्तै लाग्यो!



सविन ढकाल

नक्कली लालपूर्जाकै भरमा बैंकको ऋण प्रकरणमा योगेश्वर अनुभूति : म आफैँ फिल्मको हिरो जस्तै लाग्यो!

काठमाडौं : बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्यको २५ बिघाको एउटै प्लट जग्गा थियो। कित्ता नम्बर १०६९। जसमध्ये १३ बिघा जग्गा केही समय अगाडि नै बेचेका थिए। बाँकी थियो १२ बिघा जग्गा।

कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखी बनिरहेको थियो। अमात्यको जग्गा किन्न मानिसहरू उनको पछि लागिरहेका थिए। त्यही जग्गा बिक्री गर्न भन्दै अमात्य र उनका परिवारमा दैनिक जसो कल आइरहेका थिए। तर, अमात्य भने जग्गा बेच्न चाहँदैन थिए।

'सबै कुरा पैसा मात्र होइन। हरियाली पनि चाहिन्छ। मैले बाँकी जग्गा बेचेँ भने गाउँलेले भुमेश्वर अमात्यको छोराले जग्गा बेच्यो भन्छन् भन्ने लागेर पनि त्यो जग्गा बेचिएन,' गायक योगेश्वर अमात्यले भने।

काठमाडौंमै बस्ने गायक अमात्यको जग्गा एकाएक अर्कैको नाममा भएको खबर सुने। त्यो खबर उनलाई उक्त जग्गाको रेखदेखका लागि राखेका अशोक पाण्डेले करिब तीन महिना अगाडि सुनाएका थिए। उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर ३८ लाख रुपैयाँ भ्यालुएसन गराएर न्युरोडको कुमारी बैंकबाट १९ करोड रुपैयाँ झिकिसकिएको रहेछ।

उनले उक्त जग्गा बिरुवा भूमि वनकाली कम्पनीको नाममा राखेका थिए। त्यही जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण झिकिएको रहेछ। रोचक त के भने कुमारी बैंकबाट लिएको पैसा सिद्धार्थ बैंकमा राखिएको थियो। खाता पनि नक्कली नै खडा गरेर।

गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो।

'म आफैँ अचम्ममा परेँ। बैंकमा मेरो र श्रीमतीको हस्ताक्षर र कागजपत्र मिलाएर खाता खोलिसकेर पैसा राखेको पनि पाएँ,' गायक अमात्यले भने।

त्यसपछि के गर्ने भन्ने भयो। अमात्यलाई आपत पर्‍यो। त्यसपछि वकिलको सहयोग लिए। प्रहरीकहाँ पुगे। डीआईजी उत्तमराज सुवेदीसँग सम्पर्कमा आए। त्यसपछि अमात्यले कानुनी प्रकृया सुरु गरे। पर्याप्त सल्लाह अनुसार केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा उजुरी दर्ता गराउने भए उनले।

कार्तिक २ गते सीआईबीमा गएर उजुरी दर्ता गराए। जतिखेर अमात्यलाई सीआईबीले के काम गर्छ भन्ने पनि त्यही थाहा थिएन। तर, प्रहरीको अनुसन्धानले उनी निर्धक्क भए।

'एकदम राम्रोसँग अनुसन्धान गरेको जस्तै लाग्यो। धन्यवाद दिन चाहान्छु प्रहरीलाई,' अनुसन्धान सकिएपछि गायक अमात्यले सुनाए।

नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगन्ज शाखाले काठमाडौंको न्यूरोडलाई कर्जा प्रवाह गर्न पत्र लेखेको थियो। त्यही आधारमा १९ करोड रुपैयाँ साउनको दोस्रो सातातिर प्रवाह भयो। प्रहरीको अनुसन्धानमा बैंकका कर्मचारी समेत मिलेमतो देखियो यस प्रकरणमा। सोही अभियोगमा उजुरी परेपछि वीरगन्जको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नियन्त्रणमा लियो।

कीर्ते अभियोगमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइयो। फेरि सरकारी वकिल कार्यालयले बैकिङ कसुरमा समेत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दियो। यता, राष्ट्र बैंकले पनि यस घटनाको अनुसन्धान गरिरहेको थियो। तर, राष्ट्र बैंकको अनुसन्धान बैकिङ कसुरतिर केन्द्रित हुने देखिएन।

सरकारी वकिलले बैकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए पनि विशेष सरकारी वकिलको कार्यालयले भने बैकिङ कसुरमा मुद्दा नचलाउन निर्देशन दियो। बैंकले नक्कली लालपूर्जा राखेर ऋण लिएको थाहा पाएपछि आफ्नो रकम सुरुमा ऋणीबाट असुलेको थियो। विशेष सरकारी वकिलको कार्यालयले पहिले नै ऋण उठिसकेको तर्क गर्दै बैकिङ कसुरमा मुद्दा नचलाउन निर्देशन दिएको थियो।

कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतको आदेश अनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। त्यस्तै, राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

गायक अमात्य भने यसबारेमा जानकार नभएको बताउँछन्। तर, यस घटनाले धेरै कुरा सिकाएको उनको बुझाइ छ। नेपालमा भूमाफिया, लोकल गुन्डा, राजनीतिक दल र सबैभन्दा धेरै दलालीले कति दु:ख दिनसक्छन् भन्ने बुझेका छन् उनले । जग्गा बिक्री गर्न पहिलेदेखि नै दवाब, प्रभाव र धम्की आउने गरेको उनले सुनाए।

'‍यो घटनामा आफू सानोतिनो पुरानो फिल्मको हिरो जस्तै भएको लाग्यो। फिल्ममा जग्गा बिक्री गर्न हिरोलाई जसरी चारैतिरबाट सामदाम दण्ड अनेक प्रकारको प्रभाव आउँछ त्यस्तै नै भयो मलाई,' गायक अमात्यले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell